पोखरिया १४ भदौ/ भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि पर्साको जगरनाथपुर गाउँपालिकाले १५ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको छ।
गाउँपालिका अध्यक्ष श्रीकान्त प्रसाद यादवको अध्यक्षतामा आइतबार बसेको गाउँ कार्यपालिकाको आकस्मिक बैठकले उक्त रकम सहयोग गर्ने निर्णय गरेको हो।
गाउँपालिकाका अध्यक्ष यादवका अनुसार विपद् व्यवस्थापन कोषबाट ५ लाख ५१ हजार रुपैयाँ, गाउँपालिकाका जनप्रतिनिधिको एक महिनाको तलबभत्ता तथा कर्मचारीबाट नेपाल सरकारले तोकेको मापदण्डअनुसारको योगदान संकलन गरी १५ लाख रुपैयाँ पुर्याइनेछ।
संकलित रकम दुईदेखि तीन दिनभित्र प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्देश यादवले जानकारी दिए।
बाढीबाट रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा ठूलो जनधनको क्षति भएकाले पीडित परिवारलाई राहत तथा पुनर्स्थापनामा सहयोग पुर्याउने उद्देश्यले आकस्मिक बैठक बोलाएर आर्थिक सहयोगको निर्णय गरिएको अध्यक्ष यादवले बताए।
गाउँपालिकाले विपद्का बेला स्थानीय तहको तर्फबाट पीडित नागरिकप्रति ऐक्यबद्धता जनाउँदै तत्काल सहयोग उपलब्ध गराउने निर्णय गरेको हो।

COMMENTS