बिरुवा गुठी २९ साउन/ठोरी गाउँपालिका–५ स्थित ज्ञानवाटिका माध्यमिक विद्यालयले नयाँ पक्की भवनसँगै विद्यार्थीका लागि आवश्यक शैक्षिक सामग्रीको सुविधा पाएको छ।
विद्यालय परिसरमा शुक्रबार आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष लालबहादुर श्रेष्ठले रु. ५५ लाख लागतमा निर्माण भएको चारकोठे पक्की भवन उद्घाटन गरी विद्यालयलाई हस्तान्तरण गर्नुभयो।
उद्घाटन कार्यक्रममा अध्यक्ष श्रेष्ठले विद्यालयका पूर्वविद्यार्थीको सहयोगमा उपलब्ध शैक्षिक सामग्री कक्षा ५ सम्म अध्ययनरत विद्यार्थीलाई हस्तान्तरणसमेत गर्नुभयो।
पूर्वविद्यार्थी बुद्ध शम्सेर योञ्जन, कृष्ण योञ्जन, विक्रम बोम्जन, मनोज बस्नेत र जीवन श्रेष्ठलगायतको पहलमा संकलित रु. ८९ हजार सहयोगबाट कक्षा ५ सम्मका ४३ जनाभन्दा बढी विद्यार्थीका लागि कापी, कलम, जुत्ता र ब्यागलगायत आवश्यक सामग्री उपलब्ध गराइएको विद्यालयले जनाएको छ।
कक्षा ५ सम्मका विद्यार्थीलाई थप सुविधा
पूर्वविद्यार्थीको सहयोगपछि ज्ञानवाटिका माविमा कक्षा ५ सम्म अध्ययन गर्ने विद्यार्थीका अभिभावकले विद्यालयका लागि आवश्यक पोसाक तथा शैक्षिक सामग्री खरिदमा खर्च गर्नुपर्ने अवस्था हटेको छ। विद्यार्थीले निःशुल्क शिक्षासँगै हाउस ड्रेस, कापी, कलम, जुत्ता र ब्यागसमेत निःशुल्क पाउने भएका छन्।
यसअघि सुनाखरी उपभोक्ता समितिले कक्षा ५ सम्मका विद्यार्थीलाई हाउस ड्रेस उपलब्ध गराएको थियो। समितिले विद्यालयका ६ दर्जनभन्दा बढी विद्यार्थीलाई नगद छात्रवृत्ति समेत वितरण गरिसकेको छ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष चन्द्रबहादुर नेवारको अध्यक्षतामा भएको कार्यक्रममा वडा नं. ५ का अध्यक्ष अष्टबहादुर लोप्चन, कार्यपालिका सदस्य मेघराज सुनुवार, वडा सदस्य निशा खड्का र लालमुनी देवी, सुनाखरी उपभोक्ता समिति अध्यक्ष भीमबहादुर पाख्रिन, समाजसेवी लेखमान थापालगायत विभिन्न संघसंस्थाका प्रतिनिधिको सहभागिता थियो।

COMMENTS