विरगंज २८ साउन /वीरगञ्जस्थित ठाकुरराम बहुमुखी क्याम्पसमा एमए परीक्षाका क्रममा मोबाइल प्रयोगको विषयलाई लिएर विद्यार्थीबीच विवाद हुँदा झडप भएको छ। घटनामा तीन विद्यार्थी घाइते भएका छन्।
विद्यार्थी प्रतिनिधि राज यादवका अनुसार केही परीक्षार्थीले परीक्षा हलमा खुलेआम मोबाइल प्रयोग गरिरहेको भन्दै उनले परीक्षा गार्ड तथा सम्बन्धित पक्षको ध्यानाकर्षण गराएका थिए। सबै परीक्षार्थीलाई समान व्यवहार हुनुपर्ने भन्दै मोबाइल प्रयोग रोक्न आग्रह गरेपछि विवाद भएको उनको भनाइ छ।
यादवले पहुँचवाला परीक्षार्थीलाई मात्र मोबाइल प्रयोग गर्न छुट दिइएको भन्दै विरोध गर्दा एमएका विद्यार्थी आयुष यादवले आफूमाथि हातपात तथा धाकधम्की दिएको आरोप लगाए। विवाद बढेपछि बाहिरबाट समेत केही व्यक्ति क्याम्पस परिसरमा प्रवेश गरी आक्रमण गरेको र तीन विद्यार्थीको टाउकोमा चोट लागेको पीडित पक्षको दाबी छ।
घटनापछि क्याम्पसमा पुगेको प्रहरीले बाहिरबाट आएका व्यक्तिलाई नियन्त्रणमा लिनुको सट्टा आफूहरूमाथि लाठीचार्ज गरेको विद्यार्थीहरूले आरोप लगाएका छन्।
विद्यार्थीहरूले क्याम्पसमा परीक्षासम्बन्धी अमर्यादित अभ्यास अन्त्य गर्न, सबै परीक्षार्थीलाई समान व्यवहार गर्न तथा घटनामा संलग्नमाथि छानबिन गरी कारबाही गर्न माग गरेका छन्।

COMMENTS