बारा,७ भदौ/बाराको जितपुरसिमरा उपमहानगरपालिका–१ की तीन वर्षीया बालिका गरिमा चौधरी हत्या प्रकरणमा सरकार र पीडित परिवारबीच तीनबुँदे सहमति भएपछि विगत केही दिनदेखि अवरुद्ध रहेको जितपुर–सिमरा सडक सञ्चालनमा आएको छ।
गरिमा चौधरीको हत्या घटनामा न्यायको माग गर्दै स्थानीय तथा पीडित पक्षले सडक अवरुद्ध गरी आन्दोलन गर्दै आएका थिए। लामो समयदेखि जारी आन्दोलनका कारण सवारी आवागमन प्रभावित हुनुका साथै यात्रु तथा स्थानीयवासीले सास्ती व्यहोर्दै आएका थिए।
शनिबार राति गृह मन्त्रालयमा सरकार र पीडित परिवारबीच भएको वार्तापछि तीनबुँदे सहमति भएको हो। सहमतिअनुसार जघन्य आपराधिक घटनासम्बन्धी विद्यमान कानुन र सजायका व्यवस्थाको पुनरावलोकनका लागि सात सदस्यीय ‘गरिमा न्याय संकल्प समिति’ गठन गरिने, गरिमाको सम्झनामा सालिक निर्माणका लागि आवश्यक प्रक्रिया अघि बढाइने तथा पीडित परिवारले आफ्नै सांस्कृतिक रीतिरिवाजअनुसार बालिकाको अन्त्येष्टि गर्ने सहमति भएको छ।
सहमतिपछि पीडित पक्षले आन्दोलनका कार्यक्रम स्थगित गरेसँगै बन्द रहेको पथलैया–वीरगञ्ज सडकखण्ड अन्तर्गत जितपुर–सिमरा क्षेत्रमा सवारी सञ्चालन पुनः सुचारु भएको छ। सडक खुलेसँगै रोकिएका सवारीसाधन गन्तव्यतर्फ जान थालेका छन् भने स्थानीय जनजीवन पनि क्रमशः सामान्य बन्दै गएको छ।
सरकार र पीडित परिवारबीच भएको सहमतिले तत्कालका लागि सडक आन्दोलन अन्त्य भए पनि गरिमा चौधरी हत्या प्रकरणमा दोषीलाई कडा कारबाही र पीडित परिवारले न्याय पाउने विषयमा सबैको चासो कायम रहेको छ।

COMMENTS