ठोरी,१४ भदौ/भोटेकोशी नदीको बाढीबाट प्रभावित नागरिकका लागि पर्साको ठोरी युवा समाज तथा स्थानीय युवा अभियन्ताहरूले राहत संकलन अभियान सञ्चालन गरेका छन्।
“तराई र पहाड एउटै हुन्, उनीहरूलाई दुख्दा हामीलाई पनि दुख्छ” भन्ने भावनाका साथ संकलन गरिएको राहतमा चामल, दाल, चिउरा, भुजा, आलु, सोयाबिन, तेल, ग्यास, लत्ताकपडालगायत खाद्य तथा अत्यावश्यक सामग्री छन्। महिला तथा बालबालिकाका लागि सेनेटरी प्याड, साबुन, सर्फ र स्याम्पु लगायत सरसफाइ सामग्री समेत संकलन गरिएको छ।
करिब ८ लाख ५० हजार बराबरको राहत सामग्री संकलन भएको समाजले जनाएको छ। संकलित सामग्री लिएर ठोरी युवा समाजको टोली आज बिहान ९ बजेको समयमा भोटेकोशीका बाढी प्रभावित क्षेत्रतर्फ प्रस्थान गरेको समाजले जनाएको छ ।
समाजले अभियानमा सहयोग गर्ने सम्पूर्ण व्यक्ति, संघसंस्था तथा स्थानीय नागरिकप्रति आभार व्यक्त गर्दै प्रभावित परिवारको सहयोगका लागि आगामी दिनमा पनि पहल जारी राख्ने जनाएको छ।


COMMENTS