बिरुवा गुठी ९ भदौ/ एक महिनासम्म चलेको साउने मेला सकिएको भोलिपल्ट पर्साको प्रसिद्ध धार्मिकस्थल भाथाधाममा भएको दुर्घटनामा १७ वर्षीय किशोरको ज्यान गएको छ।
मंगलबार बिहान मेला अवधिभर राखिएका पसल तथा सामान उठाउन भाथाधामतर्फ जाँदै गरेको ट्याक्टरबाट खसेर बाराको विश्रामपुर गाउँपालिका–५ इटियाहीका आकाश रामको मृत्यु भएको हो।
प्रारम्भिक अनुसन्धानअनुसार ट्याक्टरबाट तल खसेका आकाश सोही ट्याक्टरको चक्कामुनि परेर गम्भीर घाइते भएका र घटनास्थलमै उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनापछि ट्याक्टर चालक फरार रहेको बताइएको छ। प्रहरीले चालकको खोजी गर्नुका साथै दुर्घटनाको कारणबारे अनुसन्धान अघि बढाएको छ।
सोमबार साँझ मात्र भाथाधाममा लागेको एक महिने साउने मेला सम्पन्न भएको थियो। मेला सकिएलगत्तै भएको दर्दनाक दुर्घटनाले स्थानीय क्षेत्रमा शोक छाएको छ। मृतकको शव पोस्टमार्टमका लागि नारायणी अस्पताल, वीरगञ्ज पठाइएको छ। प्रहरीले आवश्यक कानुनी प्रक्रिया पूरा गरी थप अनुसन्धान गरिरहेको जनाएको छ।

COMMENTS