बलिराम शुक्ला , बिरुवागुठि ११ पर्सा/ भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीबाट प्रभावित क्षेत्रका पीडितलाई सहयोग गर्न पर्सागढी नगरपालिकाले विभिन्न निर्णय गरेको छ।
नगर प्रमुख गोकर्ण पाठकको अध्यक्षतामा बिहीवार बसेको आकस्मिक नगर कार्यपालिकाको बैठकले बाढीबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै मृतकप्रति हार्दिक श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको हो। घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै हालसम्म सम्पर्कविहीन व्यक्तिहरूको सकुशल उद्धार र जीवनरक्षाका लागि पहल गर्ने निर्णयसमेत गरिएको छ।
बैठकले नेपाल सरकारको निर्णयअनुसार नगरपालिकाअन्तर्गत कार्यरत सम्पूर्ण कर्मचारीको एक दिनको पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोगस्वरूप दाखिला गर्ने निर्णय गरेको छ।
त्यसैगरी, नगरपालिकाको विपद् व्यवस्थापन कोषबाट ३ लाख रुपैयाँ सहयोग उपलब्ध गराउने तथा नगर प्रमुखबाट १० हजार, उपप्रमुखबाट ७ हजार, वडा अध्यक्षबाट ५ हजार र कार्यपालिका सदस्यबाट २ हजार रुपैयाँका दरले सहयोग उपलब्ध गराउने निर्णय गरिएको छ। साथै जनप्रतिनिधि, संघसंस्था तथा इच्छुक नागरिकलाई समेत स्वेच्छिक रूपमा विपद् कोषमा सहयोग गर्न नगरपालिकाले अनुरोध गरेको छ।
नगरपालिकाले बाढीबाट ज्यान गुमाएका सबैप्रति उच्च सम्मान प्रकट गर्दै उद्धार तथा व्यवस्थापन कार्यमा खटिएका सम्पूर्ण महानुभावप्रति सम्मान व्यक्त गर्ने निर्णय पनि गरेको छ।
यसैबीच, आगामी भदौ १५ गते बिहान १० बजे नगरपालिका प्राङ्गणमा श्रद्धाञ्जली कार्यक्रम आयोजना गरिने भएको छ। उक्त कार्यक्रममा सम्पूर्ण जनप्रतिनिधि, राजनीतिकर्मी, कर्मचारी तथा इच्छुक नागरिकलाई सहभागी हुन अनुरोध गरिएको छ। साथै कार्यक्रम पश्चात् आकस्मिक तथा अत्यावश्यक सेवाबाहेक नगरपालिकाअन्तर्गतका सबै निकायमा एक दिन शोक बिदा दिइने नगरपालिकाले जनाएको छ।


COMMENTS