बलिराम शुक्ला,बिरुवागुठी २ भदौ / पर्सामा अवैध लागूऔषध गाँजाको कारोबार नियन्त्रणका लागि प्रहरीले सक्रियता बढाएको दाबी गरे पनि मुख्य कारोबारी र तस्करीका नाइकेसम्म पुग्न नसक्दा गाँजाको कारोबार झनै मौलाउँदै गएको छ। प्रहरीले पटक–पटक गाँजासहित भरिया पक्राउ गरे पनि तस्करीको जालो सञ्चालन गर्ने मुख्य व्यक्तिमाथि प्रभावकारी कारबाही हुन नसकेको भन्दै स्थानीयले प्रहरी अनुसन्धानप्रति प्रश्न उठाउन थालेका छन्।
मकवानपुरको मनहरी, लोथर तथा धादिङलगायत पहाडी क्षेत्रमा उत्पादन हुने गाँजा भरियामार्फत पर्सा भित्र्याउने गरिएको स्थानीयको भनाइ छ। हेटौंडा–जीतपुर–सिमरा हुँदै जनता सडक तथा पर्सा राष्ट्रिय निकुञ्जको जंगल क्षेत्रका बाटो प्रयोग गरी पर्साका ग्रामीण क्षेत्रबाट गाँजा भारततर्फ पठाउने गरिएको बताइन्छ।
सखुवाप्रसौनी, पटेर्वासुगौली, जीराभवानी, जगरनाथपुर, विश्रामपुर, अमरपट्टि–झौवा, अठराहा सुगौली र ठोरीलगायत क्षेत्र गाँजा ओसारपसारका लागि प्रयोग हुँदै आएको बताइएको छ। यसअघि जनता सडकसँग जोडिएका मिलनचोक, बडनिहार, मनवा र रंगपुर प्रहरी चौकीले तीनपाङ्ग्रे सवारीसाधन, भारतीय सुमो तथा स्कार्पियोबाट गाँजा बरामद गर्दै आएका थिए। तर पछिल्लो समय ती क्षेत्रमा गाँजा बरामद हुने घटना घट्दै गएपछि तस्करी रोक्न प्रहरीको सक्रियता कमजोर भएको हो कि भन्ने प्रश्नसमेत उठ्न थालेको छ।
स्थानीयका अनुसार गाँजा तस्करीमा भरियालाई अगाडि सार्ने र मुख्य कारोबारीले आफूलाई सुरक्षित राख्ने शैली अपनाइएको छ। भरियालाई पक्राउ गरेपछि अनुसन्धान त्यहीँ सीमित हुने र कारोबारको मुख्य सञ्जालसम्म प्रहरी नपुग्ने गरेको उनीहरूको आरोप छ।
जिल्ला प्रहरी कार्यालय, पर्साका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले गाँजाको कारोबार सङ्गठित शैलीमा हुने भएकाले मुख्य कारोबारीसम्म पुग्न चुनौती रहेको बताए। कारोबारीले भरियामार्फत गाँजा एक स्थानबाट अर्को स्थानमा पुर्याएर विभिन्न ठाउँमा भण्डारण गर्ने र यसरी ‘चेन ब्रेक’ गर्ने भएकाले नाइके पहिचान गर्न कठिन हुने उनको भनाइ छ।
भट्टराईका अनुसार विगतमा भएका गाँजा कारोबारका घटनाको विश्लेषण गरी कारोबारीको सम्पूर्ण सञ्जाल तोड्ने गरी अनुसन्धान अघि बढाइएको छ। पछिल्लो १०–१५ दिनमा पर्साका तीन–चार स्थानबाट गाँजासहित केही व्यक्ति पक्राउ परेको उनले जानकारी दिए।
प्रहरीले भरिया पक्राउमा मात्र सीमित नभई गाँजा कारोबारको मुख्य सञ्जाल र त्यसका सञ्चालकसम्म पुग्ने गरी अनुसन्धान भइरहेको जनाएको छ। तर गाँजा ओसारपसारका लागि प्रयोग हुने भनिएका क्षेत्रहरूमा पछिल्लो समय बरामद र पक्राउका घटना कम देखिन थालेपछि प्रहरीको दाबी र मैदानमा देखिएको अवस्थाबीचको अन्तरमाथि स्थानीयले निगरानी बढाउन थालेका छन्।
गाँजाको अवैध कारोबार नियन्त्रणका लागि भरियालाई पक्राउ गर्नु मात्र पर्याप्त नभएको भन्दै स्थानीयले कारोबारको लगानीकर्ता, सञ्चालक, भण्डारणकर्ता र तस्करीको सञ्जालसँग जोडिएका व्यक्तिसम्म अनुसन्धान पुर्याउन माग गरेका छन्। मुख्य कारोबारीसम्म प्रहरी पुग्न नसकेसम्म पक्राउ र बरामदको अभियानले गाँजा तस्करीको जरो काट्न नसक्ने स्थानीयको भनाइ छ।

COMMENTS