धर्मेन्द्र चौरसिया, पोखरिया / पर्साको पोखरिया प्रादेशिक अस्पतालमा लामो समयदेखि एक्स–रे सेवा बन्द हुँदा उपचारका लागि आउने बिरामी तथा सेवाग्राही मारमा परेका छन्। अस्पतालमा रहेको एक्स–रे मेसिन सञ्चालनमा नआउँदा एक्स–रे गर्नुपर्ने बिरामीलाई अन्य स्वास्थ्य संस्थामा जानुपर्ने बाध्यता रहेको छ।
अस्पतालमा एक्स–रे सेवा बन्द भएपछि सामान्यदेखि आकस्मिक अवस्थाका बिरामीसमेत निजी स्वास्थ्य संस्थामा गएर महँगो शुल्क तिर्न बाध्य भएका छन्। सेवाग्राही माल्ती देवीले अस्पतालमै एक्स–रे सेवा उपलब्ध नहुँदा आर्थिक अवस्था कमजोर भएका बिरामीलाई थप आर्थिक भार परेको गुनासो गरिन्।
पोखरिया प्रादेशिक अस्पतालमा एक्स–रे सेवा करिब एक वर्षदेखि बन्द रहेको बताइएको छ। एक्स–रे सेवा नियमित नहुँदा अस्पतालमा उपचारका लागि आउने बिरामीले समय र पैसा दुवै खर्च गर्नुपर्ने अवस्था रहेको स्थानीय सेवाग्राहीको भनाइ छ।अस्पतालमा एक्स–रे सेवा करिब एक वर्षदेखि बन्द रहेको विषय यसअघि पनि सार्वजनिक भएको थियो। अस्पतालमा एक्स–रे तथा प्रयोगशाला सेवा बन्द रहँदा पनि सम्बन्धित शाखामा कार्यरत केही कर्मचारीले जोखिम भत्ता लिएको विवरणसमेत सार्वजनिक भएको छ।
त्यस्तै, अस्पतालमा रहेको टोकन मेसिनसमेत विगत ६ महिनाभन्दा बढी समयदेखि बिग्रिएर बन्द रहेको अस्पतालका कर्मचारीहरूले बताएका छन्। टोकन मेसिन सञ्चालनमा हुँदा सेवाग्राहीले आफ्नो पालोअनुसार उपचार गराउन सहज हुने गरेको भए पनि मेसिन बिग्रिएपछि बिरामीहरू एकै ठाउँमा जम्मा हुँदा भीडभाड बढ्ने र उपचार सेवा लिन समस्या हुने गरेको सेवाग्राही रमेश साहले बताए।
सरकारी अस्पतालमा आधारभूत स्वास्थ्य परीक्षण तथा सेवा प्रवाहका लागि आवश्यक उपकरण लामो समयसम्म सञ्चालनमा नआउँदा अस्पतालको व्यवस्थापनप्रति सेवाग्राहीले प्रश्न उठाएका छन्। उनीहरूले बिग्रिएका उपकरण तत्काल मर्मत गरी अस्पतालका सेवा नियमित सञ्चालन गर्न सम्बन्धित निकायसँग माग गरेका छन्।
यस विषयमा पोखरिया प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. आनन्द रौनियारसँग बुझ्दा उनले अस्पतालका बिग्रिएका उपकरण तथा अन्य सेवा सञ्चालनमा ल्याउने काम भइरहेको बताए। “एक हप्ताभित्र अस्पतालका सबै सेवाहरू सञ्चालनमा आउनेछन्,” उनले भने।
अस्पताल प्रशासनले दिएको उक्त समयसीमाभित्र एक्स–रे, टोकन मेसिनलगायत बन्द रहेका सेवा पुनः सञ्चालनमा आए सेवाग्राहीलाई ठूलो राहत पुग्ने देखिन्छ।


COMMENTS