पोखरिया २४ साउन/ भारतसँग सीमा जोडिएको पर्साको जिराभवानी गाउँपालिका–१, बलुवा टोलस्थित आविद उखु क्रसर उद्योगका सञ्चालक सेख गैसुदिनलाई प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ।
भारतको भाङ्गाहा बजारबाट भन्सार छली गरी सक्कर (मिठा) भित्र्याएर बिक्री–वितरण भइरहेको विशेष सूचनाका आधारमा प्रहरीले विभिन्न स्थानमा छापा मार्दा ३१ बोरा सक्कर बरामद गरेको हो।
जिल्ला प्रहरी कार्यालय पर्साको क्राइम टोली, सशस्त्र प्रहरी सुरक्षा बेस क्याम्प जिराभवानी, प्रहरी चौकी महादेवपट्टी, इलाका प्रहरी कार्यालय पटेर्वा सुगौली र प्रहरी चौकी सुवर्णपुरको संयुक्त टोलीले छापामारेको थियो।
प्रहरीका अनुसार क्रसर उद्योगबाट १६ बोरा र सुवर्णपुर क्षेत्रबाट १५ बोरा गरी ३१ बोरा सक्कर बरामद भएको हो। उद्योग विगत ६/७ महिना देखि बन्द अवस्थामा रहेको र परिसरमा घाँससमेत उम्रिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ।
उद्योगबाट देखाइएका बिल–बिजकसमेत शंकास्पद देखिएपछि सञ्चालक गैसुदिनलाई नियन्त्रणमा लिई अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी डीएसपी चक्रबहादुर मल्लले जानकारी दिए।
प्रहरीले बरामद सक्करको स्रोत, बिल–बिजक तथा कारोबारमा संलग्न व्यक्तिबारे थप अनुसन्धान भइरहेको जनाएको छ।


COMMENTS