विरुवा गुठी, २६/पर्साको पटेर्वा सुगौली गाउँपालिका–३ सोनबर्साबाट प्रहरीले ठूलो परिमाणमा अवैध लागूऔषध गाँजासहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ।
सोमबार राति करिब ९ बजे प्राप्त विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय पटेर्वा सुगौली र इलाका प्रहरी कार्यालय ठोरीबाट परिचालित संयुक्त प्रहरी टोलीले १०५ किलो गाँजा बरामद गर्दै एक जनालाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेमा भारतको बिहार राज्य, बेतिया जिल्लाअन्तर्गत उजहरुपरजिलवा भागा श्रीनगर–३ निवासी करिब ५० वर्षीय सउरु चौधरी रहेका छन्।
प्रहरीका अनुसार नेपालबाट भारततर्फ गाँजा लैजाँदै गरेको अवस्थामा चौधरीलाई सोनबर्सा क्षेत्रमा घेराबन्दी गरी गाँजाका बोरासहित नियन्त्रणमा लिइएको हो।
बरामद गाँजा र पक्राउ परेका चौधरीलाई आवश्यक कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीमा राखिएको छ। घटनामा संलग्न अन्य व्यक्ति तथा गाँजा तस्करीमा सक्रिय समूहबारे समेत प्रहरीले अनुसन्धान अघि बढाएको जनाएको छ।

COMMENTS