धर्मेन्द्र चौरसिया,२२ पोखरिया / नेपाल सरकारले सरकारी कार्यालय बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन गर्ने व्यवस्था गरे पनि पर्साका अधिकांश सरकारी कार्यालयमा यसको प्रभावकारी कार्यान्वयन नभएको सेवाग्राहीहरूले गुनासो गरेका छन्।
स्थानीय तह, सरकारी कार्यालय तथा स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीहरू तोकिएको समयभन्दा ढिलो गरी बिहान १० देखि साढे १० बजेसम्म कार्यालय आउने र साँझ ५ बज्नुअघि नै कार्यालयबाट निस्कने गरेको सेवाग्राहीहरूको आरोप छ।
कालिकामाई, धोबिनीलगायतका स्थानीय तहमा कार्यालय सहयोगीले समयमै कार्यालय खोले पनि सम्बन्धित प्रमुख तथा कर्मचारीहरू ढिलो उपस्थित हुँदा सेवा लिन पुगेका नागरिक घण्टौंसम्म प्रतीक्षा गर्न बाध्य हुने गरेको बताइएको छ।
सरकारले शनिबार र आइतबार सार्वजनिक बिदा लागू गरी बाँकी पाँच दिन कार्यालय समय बढाउनुको उद्देश्य नागरिकलाई सहज र प्रभावकारी सेवा प्रदान गर्नु भए पनि कर्मचारीको ढिलासुस्तीका कारण त्यसको प्रभावकारिता कमजोर बनेको सेवाग्राही नरेन्द्र पटेलको भनाइ छ।
सेवाग्राहीहरूले कार्यालय समयको कडाइका साथ पालना गराउन नियमित अनुगमन गर्न तथा ढिलासुस्ती र अनुपस्थित हुने कर्मचारीमाथि आवश्यक कारबाही गर्न सम्बन्धित निकायसँग माग गरेका छन्। उनीहरूले जिल्ला प्रशासन कार्यालय तथा सम्बन्धित स्थानीय तहले अनुगमनलाई प्रभावकारी बनाउनुपर्ने बताएका छन्।

COMMENTS