पोखरिया २० साउन / पर्सा प्रहरीले २०७ किलोग्राम गाँजासहित एक जना व्यक्तिलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका निवासी ४८ वर्षीय कृष्ण लामा रहेका छन्। उनी गाँजा ओसारपसारमा प्रयोग गरिएको पिकअप गाडीका चालक हुन्।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय पोखरिया र प्रहरी चौकी प्रसौनीभठ्ठाबाट खटिएको संयुक्त प्रहरी टोलीले बिन्दवासिनी गाउँपालिका–५ स्थित सडकखण्डमा सवारी चेकजाँच गर्ने क्रममा चालक लामालाई नियन्त्रणमा लिएको हो।
प्रहरीले प्रदेश–३–०१–२४ च ५३८५ नम्बरको टाटा योद्धा पिकअप गाडी रोकी खानतलासी गर्दा सिमेन्टको बोराभित्र लुकाएर राखिएको २०७ किलोग्राम गाँजा बरामद गरेको जनाएको छ। बरामद गाँजा गाडीमार्फत भारत लैजाँदै गरेको अवस्थामा प्रहरीले फेला पारेको हो।
प्रहरीले गाँजासहित चालकलाई नियन्त्रणमा लिएर आवश्यक कानुनी प्रक्रिया अघि बढाएको जनाएको छ। घटनामा संलग्न अन्य व्यक्ति तथा गाँजा कहाँबाट ल्याइएको भन्ने विषयमा अनुसन्धान जारी रहेको प्रहरी निरीक्षक प्रदिप पौडेलले बताए।
पर्सा प्रहरीले लागूऔषध ओसारपसार नियन्त्रणका लागि विशेष निगरानी र चेकजाँचलाई तीव्र बनाएको जनाएको छ। पछिल्लो समय विशेष सूचनाका आधारमा सञ्चालन गरिएका प्रहरी कारबाहीबाट लागूऔषध तस्करीमा संलग्न व्यक्तिहरू पक्राउ पर्ने क्रम बढ्दै गएको प्रहरीले जनाएको छ।

COMMENTS