बलिराम शुक्ला पर्सागढि, १९ साउन /क्यापीटभेटिङ्ग इन्टरनेसनल फाउन्डेसनको सहयोग तथा आसमान नेपालको आयोजनामा सञ्चालित शिक्षा, स्वास्थ्य तथा आत्मनिर्भरता कार्यक्रम–४ को पालिका स्तरीय वार्षिक समीक्षा बैठक पर्सागढि नगरपालिका कार्यालयको सभाहलमा सम्पन्न भएको छ।
पर्सागढि नगरपालिका वडा नं. २ का वडा अध्यक्ष वीरेन्द्र प्रसाद महतोको अध्यक्षतामा सम्पन्न समीक्षा बैठकमा कार्यक्रम अधिकृत धर्मेन्द्र चौरसियाले एक वर्षको कार्यक्रमगत उपलब्धि, सिकाइ, चुनौती तथा समस्याबारे प्रस्तुति दिएका थिए।
प्रस्तुतिका क्रममा उनले गत वर्ष विद्यालय बाहिर रहेका ५५ जना दलित किशोरीलाई अनौपचारिक शिक्षा प्रदान गरी विद्यालयमा भर्ना गराई नियमित अध्ययनमा सहभागी गराइएको जानकारी दिए। साथै, २७ जना दलित किशोरीलाई आत्मनिर्भर बनाउने उद्देश्यले सीपमूलक तालिमसँगै बंगुर र बाख्रा वितरण गरिएको बताए। यसबाट उनीहरूको आर्थिक अवस्था सुधार भई पठनपाठनलाई निरन्तरता दिन सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ।
कार्यक्रममा पर्सागढि नगरपालिकाका सामाजिक तथा स्वास्थ्य शाखा प्रमुख नारायण प्रसाद पौडेलले विद्यालय बाहिर रहेका विपन्न तथा दलित किशोरीलाई शिक्षा र आत्मनिर्भरतातर्फ अग्रसर गराउने यस्ता कार्यक्रम प्रभावकारी रहेको भन्दै उच्च प्रशंसा गरे। उनले स्थानीय सरकार र सरोकारवाला निकायबीचको सहकार्यलाई अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिए।
यस आर्थिक वर्षमा उक्त कार्यक्रम पर्सागढि नगरपालिका वडा नं. ३ को पकडिया र बिरुवा तथा वडा नं. ८ को हरपुर गरी तीन स्थानमा सञ्चालन गरिने जानकारी कार्यक्रममा दिइएको छ।



COMMENTS