पर्सागढी, १८ साउन/ पर्सागढी नगरपालिकाको समन्वय, क्यापिटभेटींङ इन्टरनेसनल फाउन्डेसनको सहयोग तथा आसमान नेपालको आयोजनामा सञ्चालित शिक्षा, स्वास्थ्य तथा आत्मनिर्भरता कार्यक्रम–४ अन्तर्गत पर्सागढी नगरपालिका–२ र ४ का १८ जना किशोरीलाई दुई–दुई वटा बङ्गुर वितरण गरिएको छ।
वडा नं. २ को वडा कार्यालयमा आयोजित एक कार्यक्रमका बीच किशोरीहरूलाई बङ्गुर हस्तान्तरण गरिएको हो। कार्यक्रमको प्रमुख अतिथि पर्सागढी नगरपालिकाका नगरप्रमुख गोकर्ण पाठकले बङ्गुर वितरण कार्यक्रमले किशोरीहरूको आर्थिक सशक्तीकरणसँगै शिक्षामा निरन्तरता दिन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।
उनले आर्थिक अभावका कारण अझै पनि धेरै किशोरी विद्यालय छाड्न बाध्य हुने अवस्था रहेको उल्लेख गर्दै बङ्गुरपालन व्यवसायबाट प्राप्त आम्दानीले उनीहरूको अध्ययन खर्च व्यवस्थापन गर्न सहयोग पुग्ने बताए। “किशोरीहरूलाई आत्मनिर्भर बनाउने यस्ता कार्यक्रमले उनीहरूको भविष्य उज्ज्वल बनाउनेछ,” उनले भने।
नगरप्रमुख पाठकले विशेष गरी दलित समुदायका कतिपय परिवार आर्थिक तथा सामाजिक समस्याका कारण थप विपन्न बन्दै गएको उल्लेख गर्दै शिक्षा नै यस्ता चुनौतीबाट मुक्त हुने सबैभन्दा प्रभावकारी माध्यम भएको बताए। उनले अभिभावक लाई आफ्ना बालबालिकालाई नियमित विद्यालय पठाउन आग्रह गर्दै संस्थाले उपलब्ध गराएको बङ्गुरलाई व्यवसायिक रूपमा पालेर आम्दानीको स्रोत बनाउन सुझाव दिए।
उनले आफ्नो नेतृत्वमा पर्सागढी नगरपालिकाले शिक्षा र स्वास्थ्य क्षेत्रमा उल्लेखनीय सुधार गर्दै आएको दाबी गर्दै नगरभित्रका स्वास्थ्य संस्थामा गर्भवती महिलाका लागि भिडियो एक्स–रे सेवा तथा प्रयोगशाला (ल्याब) सेवा सञ्चालनमा आएको जानकारी दिए।
वडा नं. २ का वडा अध्यक्ष वीरेन्द्रप्रसाद महतोको अध्यक्षतामा सम्पन्न कार्यक्रममा आसमान नेपालका धर्मेन्द्र चौरसिया, प्रतिमा कुमारी राम, स्थानीय जनप्रतिनिधि, अभिभावक तथा लाभग्राही किशोरीहरूको सहभागिता रहेको थियो।
कार्यक्रमअन्तर्गत वितरण गरिएको बङ्गुरले किशोरीहरूलाई आयआर्जनमा जोड्दै आर्थिक रूपमा आत्मनिर्भर बनाउन, विद्यालय शिक्षालाई निरन्तरता दिन तथा उनीहरूको जीवनस्तर सुधार गर्न महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको आसमान नेपालका कार्यक्रम अधिकृत धर्मेन्द्र चौरसियाले बताए ।




COMMENTS