बलिराम शुक्ला बिरुवा गुठी,२७ असार / बिन्दबासिनी–कोइलाभार साझेदारी वन उपभोक्ता समिति, बडनिहारले आफ्नो कार्यक्षेत्रका उपभोक्तालाई लक्षित गर्दै ७,१०० वटा फलफूलका बिरुवा वितरण अभियान सुरु गरेको छ।
समितिले रौतहटस्थित कपिलवस्तु फलफूल नर्सरीबाट खरिद गरेका आँप, लिची र कटहरका बिरुवा आफ्नो कार्यक्षेत्रभित्र रहेका २० वटा वडाका उपभोक्तालाई वितरण गर्न लागेको हो।
साझेदारी वन उपभोक्ता समितिका अध्यक्ष रिजवानुल हक अन्सारीका अनुसार वन संरक्षणसँगै हरियाली विस्तार, वातावरण संरक्षण तथा किसानलाई व्यावसायिक फलफूल खेतीतर्फ आकर्षित गर्ने उद्देश्यले यो कार्यक्रम सञ्चालन गरिएको हो। फलफूलका बिरुवाले वातावरणीय सन्तुलन कायम गर्न, आयआर्जन बढाउन तथा स्थानीयस्तरमा पोषण सुरक्षामा समेत टेवा पुग्ने विश्वास उहाँले व्यक्त गर्नुभयो।
अध्यक्ष अन्सारीले वितरण गरिएका बिरुवाको उचित संरक्षण, नियमित हेरचाह र समयमै रोपाइँ गर्न सबै उपभोक्तासँग आग्रह गर्नुभयो। उहाँले प्रत्येक बिरुवा हुर्काउन सके वन क्षेत्र हराभरा बन्नुका साथै स्थानीय समुदायले दीर्घकालीन आर्थिक लाभसमेत लिन सक्ने बताउनुभयो।
समितिका अनुसार बिरुवा वितरण कार्यक्रम निर्धारित कार्यतालिकाअनुसार विभिन्न वडामा निरन्तर सञ्चालन गरिनेछ। यस अभियानबाट वन क्षेत्रको हरियाली प्रवर्द्धन हुनुका साथै समुदायमा फलफूल खेतीप्रति आकर्षण बढ्ने अपेक्षा गरिएको छ।


COMMENTS