वीरगञ्ज, १२साउन/ पर्साको वीरगञ्ज महानगरपालिका–२६ स्थित निर्माणाधीन पुलभित्र पानीमा डुबेको अवस्थामा दुई बालिकाको शव फेला परेको छ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लका अनुसार मृत्यु हुनेमा स्थानीय तीन वर्षीया र पाँच वर्षीया दुई बालिका रहेका छन्।
प्रहरीका अनुसार दुवै बालिका सोमबार आफ्ना अभिभावकसँग खेतमा गएका बेला हराएका थिए। लामो समयसम्म खोजी गर्दा पनि फेला नपरेपछि अभिभावकले प्रहरीमा खोजतलासका लागि निवेदन दिएका थिए।
निवेदन प्राप्त भएपछि घटनास्थल पुगेको प्रहरी टोलीले निर्माणाधीन पुलभित्र पानीमा डुबेको अवस्थामा दुवै बालिकाको शव फेला पारेको थियो। शवलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी पोस्टमार्टमका लागि नारायणी अस्पताल पठाइएको प्रहरीले जनाएको छ।
घटनास्थलमा आवश्यक मुचुल्का उठाइसकिएको र घटनाको वास्तविक कारण खुलाउन विस्तृत अनुसन्धान अघि बढाइएको प्रहरी नायब उपरीक्षक मल्लले जानकारी दिए।
यस घटनाले स्थानीय क्षेत्रमा शोकको वातावरण छाएको छ। निर्माणाधीन संरचनामा सुरक्षा व्यवस्थाको पर्याप्त अभाव हुँदा यस्ता दुःखद घटना दोहोरिन सक्ने भन्दै स्थानीयवासीले सम्बन्धित निकायलाई आवश्यक सुरक्षा सतर्कता अपनाउन आग्रह गरेका छन्

Comments
Post a Comment