वीरगञ्ज,२७असार/सामाजिक सञ्जाल मार्फत पत्रकार समुदायलाई लक्षित गरी अश्लील तथा अपमानजनक अभिव्यक्ति दिएको आरोपमा नेपाल पत्रकार महासंघ पर्साले हास्य कलाकार आदर्श मिश्राविरुद्ध कानुनी कारबाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालय पर्सामा उजुरी दर्ता गरेको छ।
महासंघका अनुसार ‘आदर्श मिश्रा’ नामको टिकटक खाताबाट सार्वजनिक गरिएको भिडियोमा पत्रकारिता पेशाको मर्यादामाथि आँच पुग्ने खालका अशोभनीय र अपमानजनक शब्द प्रयोग गरिएको छ। यस्ता सामग्रीले पत्रकारको प्रतिष्ठामात्र होइन, सामाजिक सद्भावमा समेत नकारात्मक असर पार्ने महासंघको भनाइ छ।
नेपाल पत्रकार महासंघ पर्साका सचिव विजय महतोले पत्रकार तथा पत्रकारिता पेशाप्रति गरिएका अमर्यादित अभिव्यक्ति अस्वीकार्य रहेको बताउँदै यस्ता गतिविधिलाई कानुनअनुसार कारबाहीको दायरामा ल्याउनुपर्ने आवश्यकता औँल्याएका छन्।
महासंघले जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सुदीप राज पाठकलाई निवेदन बुझाउँदै घटनाको निष्पक्ष अनुसन्धान गरी आरोपितमाथि तत्काल कानुनी प्रक्रिया अघि बढाउन माग गरेको छ।
उजुरीमा उल्लेख भएअनुसार आरोपित आदर्श मिश्रा बारा जिल्लाको जितपुर–सिमरा उपमहानगरपालिका अन्तर्गत नगौल निवासी हुन्।
नेपाल पत्रकार महासंघ पर्साले सामाजिक सञ्जालको दुरुपयोग गरी कुनै व्यक्ति वा पेशाको सम्मानमा आँच पुर्याउने गतिविधि रोक्न सम्बन्धित निकायले कडा र प्रभावकारी कदम चाल्नुपर्नेमा जोड दिएको छ।

COMMENTS