धर्मेन्द्र चौरसिया,३० पोखरिया/पोखरिया नगरपालिका–१० शिवबर्वामा करिब १६ लाख रुपैयाँको लागतमा जडान गरिएका चारवटा डीप बोरिङ प्रयोगविहीन बन्दा चोरीको शिकार हुन थालेका छन्। स्थानीयका अनुसार आवश्यकता नै नभएको स्थानमा डीप बोरिङ जडान गरिएकाले पाइप र मोटरसम्म चोरी भएको छ।
शिवबर्वामा अधिकांश घरधुरीले करिब ९० फिट गहिराइको चापाकलबाट सहज रूपमा खानेपानी प्रयोग गर्दै आएका कारण डीप बोरिङ सञ्चालनमा आउन सकेन। स्थानीयले वास्तविक आवश्यकता र भूगोलको अध्ययन नगरी योजना कार्यान्वयन गर्दा सरकारी लगानी खेर गएको बताएका छन्।
स्थानीयवासीले डीप बोरिङलाई सिंचाइका लागि उपयोग गर्न आवश्यक संरचना निर्माण गरिए किसानलाई ठूलो राहत पुग्ने बताएका छन्। हाल पर्याप्त सिंचाइ सुविधा नहुँदा वर्षमा दुई बाली मात्र लगाउन सकिने अवस्था रहेको उनीहरूको भनाइ छ।
उनीहरूले प्रयोगविहीन डीप बोरिङको संरक्षण, चोरी नियन्त्रण तथा कृषिमा उपयोग हुने गरी तत्काल योजना ल्याउन पोखरिया नगरपालिकासँग माग गरेका छन्।


COMMENTS