पोखरिया, ९ साउन/ उपकार सेवा नेपालको सहयोगमा पर्साको पोखरिया नगरपालिका–४ सतवरियास्थित श्री नेपाल राष्ट्रिय कन्या माध्यमिक विद्यालयलाई ५ थान पंखा हस्तान्तरण गरिएको छ। गर्मी मौसममा विद्यार्थीहरूले सहज र अनुकूल वातावरणमा अध्ययन गर्न सकून् भन्ने उद्देश्यले शनिबार आयोजित कार्यक्रममा विद्यालयलाई पंखा उपलब्ध गराइएको हो।
आयोजित कार्यक्रममा उपकार सेवा नेपालकी अध्यक्ष विद्या कुमारी सरावगी, संस्थाकी संरक्षक पद्मा देवी सरावगी तथा समाजसेवी सुमन बगाडियाले विद्यालयका प्रधानाध्यापक शंकर प्रसाद रौनियारलाई पंखा हस्तान्तरण गर्नुभयो। कार्यक्रममा बोल्दै सहभागीहरूले शिक्षामा सहयोग गर्नु समाजप्रतिको उत्तरदायित्व भएको उल्लेख गर्दै आगामी दिनमा पनि यस्ता सामाजिक तथा शैक्षिक गतिविधिलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रमका समन्वयकर्ता नेजामुद्दीन शमानीका अनुसार विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई गर्मीका कारण पठनपाठनमा हुने असहजता कम गर्ने उद्देश्यले सहयोग गरिएको हो। विद्यालयमा पंखा जडान भएपछि कक्षाकोठाको वातावरण थप सहज बन्ने र विद्यार्थीहरूको सिकाइमा सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गरिएको छ।
कार्यक्रममा स्थानीय समाजसेवी, शिक्षाप्रेमी, अभिभावक तथा अन्य सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। विद्यालय प्रशासनले उपकार सेवा नेपाल तथा सहयोग उपलब्ध गराउन भूमिका खेल्ने सम्पूर्ण व्यक्तिप्रति आभार व्यक्त गर्दै यस्ता सहयोगले विद्यालयको शैक्षिक वातावरण सुधार गर्न महत्त्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेको छ।

COMMENTS