ठोरी, १३साउन/ पर्सा राष्ट्रिय निकुञ्जभित्र अवस्थित धार्मिक आस्थाको केन्द्र भाथा बाबा मन्दिर आगामी श्रावण १४ गतेदेखि भक्तजन तथा पर्यटकका लागि खुला हुने भएको छ। चुरे पहाडको काख, घना जंगल र प्राकृतिक सौन्दर्यले भरिएको यो क्षेत्रलाई धार्मिक तथा प्राकृतिक पर्यटनको आकर्षक गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यका साथ स्थानीयस्तरमा तयारी तीव्र पारिएको छ।
ठोरी गाउँपालिका–५ सुवर्णपुर चोकदेखि करिब १८ किलोमिटर उत्तरमा रहेको भाथा बाबा क्षेत्रमा हरेक वर्ष नेपालका विभिन्न जिल्लासहित भारतका सीमावर्ती क्षेत्रबाट पनि ठूलो संख्यामा श्रद्धालु दर्शनका लागि पुग्ने गरेका छन्। मन्दिर दर्शनसँगै जंगल सफारी, वन्यजन्तु अवलोकन तथा प्राकृतिक दृश्यको आनन्द लिन सकिने भएकाले यस क्षेत्र धार्मिक पर्यटनसँगै प्रकृति पर्यटनको पनि नयाँ आकर्षण बन्ने अपेक्षा गरिएको छ।
श्रद्धालु तथा पर्यटकको यात्रालाई सहज बनाउन सुनखरी मध्यवर्ती होमस्टे, ठोरी–५, सुवर्णपुर ले जिप यातायात तथा जिप सफारीको व्यवस्था गरेको जनाएको छ। जिप सफारीमार्फत भाथा बाबा दर्शनसँगै पर्सा राष्ट्रिय निकुञ्जको जैविक विविधता र प्राकृतिक वातावरणको अवलोकन गर्न सकिनेछ।
सुनखरी मध्यवर्ती होमस्टेका अध्यक्ष शम्भुराम पौडेलले भाथा बाबा क्षेत्रलाई धार्मिक आस्थाको केन्द्रमा मात्र सीमित नराखी पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्न स्थानीय समुदायको सक्रिय भूमिका आवश्यक रहेको बताए। उनका अनुसार पर्यटकको आगमन बढे स्थानीय उत्पादनको बजारीकरण, होमस्टे व्यवसाय, यातायात सेवा तथा रोजगारीका अवसरसमेत विस्तार हुनेछन्।
समाजसेवी चन्द्र नेवारले भाथा बाबा क्षेत्रको धार्मिक तथा प्राकृतिक पर्यटनको सम्भावनालाई उजागर गरी ठोरीको समग्र पर्यटन विकाससँग जोड्ने प्रयास भइरहेको बताए। उनले व्यवस्थित प्रचारप्रसार, सडक पहुँच, पर्यटक सुरक्षा, सरसफाइ, सूचना केन्द्र, विश्रामस्थल तथा अन्य आवश्यक पूर्वाधारको विकास गर्न सके ठोरीको पर्यटनमा नयाँ आयाम थपिने विश्वास व्यक्त गरे।
विशेषगरी श्रावण महिनामा धार्मिक पर्यटकको चहलपहल बढ्ने भएकाले स्थानीयस्तरमा दर्शन यात्रालाई व्यवस्थित बनाउन आवश्यक तयारी भइरहेको छ। स्थानीय समुदाय, मध्यवर्ती क्षेत्र, पर्सा राष्ट्रिय निकुञ्ज तथा सम्बन्धित निकायबीच प्रभावकारी सहकार्य हुन सके यस क्षेत्रले धार्मिक पर्यटनसँगै स्थानीय अर्थतन्त्रलाई पनि चलायमान बनाउन सक्ने अपेक्षा गरिएको छ।
सुनखरी मध्यवर्ती होमस्टेले आगन्तुकका लागि जिप सफारी, एसीसहितको आरामदायी होमस्टे, स्थानीय मौलिक परिकार, निकुञ्ज भ्रमण तथा प्राकृतिक अवलोकनको सुविधा उपलब्ध गराउने जनाएको छ। भाथा बाबा दर्शन, जिप सफारी तथा होमस्टे सेवासम्बन्धी जानकारीका लागि ९८६०१०४७६७ र ९८१९२२३०८२ नम्बरमा सम्पर्क गर्न सकिने जनाइएको छ।
भाथा बाबा क्षेत्र धर्म, प्रकृति र पर्यटनको त्रिवेणीका रूपमा विकास हुन सक्ने प्रचुर सम्भावना बोकेको गन्तव्य मानिएको छ। यसको व्यवस्थित प्रचारप्रसार र पूर्वाधार विकास गर्न सकिए ठोरीलाई धार्मिक तथा प्राकृतिक पर्यटनको प्रमुख केन्द्रका रूपमा स्थापित गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ।


COMMENTS