विरगंज,१२ साउन/ वीरगञ्जस्थित नारायणी अस्पतालमा चिकित्सकमाथि भएको आक्रमणको विरोधमा नेपाल चिकित्सक संघको आह्वानमा आज देशभरका अस्पतालमा आकस्मिक (इमर्जेन्सी) बाहेकका सबै ओपीडी सेवा बन्द गरिएका छन्।
नारायणी अस्पतालमा उपचारका क्रममा बिरामीको मृत्यु भएपछि चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको आक्रमण र तोडफोडको विरोध गर्दै चिकित्सकहरू आन्दोलनमा उत्रिएका हुन्। आन्दोलनका कारण सरकारी, निजी तथा सामुदायिक अस्पतालहरूमा नियमित स्वास्थ्य सेवा प्रभावित भएको छ भने ओपीडीमा उपचार गराउन आएका बिरामीहरू मर्कामा परेका छन्।
नेपाल चिकित्सक संघले दोषीमाथि कडा कानुनी कारबाही, स्वास्थ्यकर्मीको सुरक्षा सुनिश्चित गर्न तथा अस्पतालमा हुने हिंसात्मक घटनाको अन्त्य गर्न सरकारसँग माग गरेको छ। माग पूरा नभए आन्दोलनका कार्यक्रम थप सशक्त बनाइने संघले जनाएको छ।
यसअघि वीरगञ्जमा चिकित्सकहरूले अनिश्चितकालीन आन्दोलन सुरु गरेका थिए। त्यसको प्रभाव नारायणी अस्पतालसहित अन्य अस्पतालमा पनि परेको थियो। पछिल्लो निर्णयअनुसार आज देशभर आकस्मिक सेवाबाहेकका नियमित सेवा बन्द गरिएको हो।

COMMENTS