बलिराम शुक्ला,९ साउन / पर्साको पर्सागढी नगरपालिका–३ बडनिहार बजारमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्सागढी नगर समितिको आयोजनामा खुला रक्तदान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा ३ महिलासहित ६० जनाले रक्तदान गरेका छन्।
रास्वपा पर्सागढी नगर समितिका सभापति कबिराज अर्यालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रतिनिधिसभा सदस्य सुशील साह कानु प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै सांसद कानुले पछिल्लो समय रगतको अभाव गम्भीर समस्या बन्दै गएको उल्लेख गर्दै यस्ता सामाजिक अभियानले धेरै बिरामीको ज्यान बचाउन महत्वपूर्ण योगदान पुग्ने बताए।सांसद सुशील साह कानुले भने, “अहिले देशभर नै रगतको अभाव देखिएको छ।
यस्तो अवस्थामा रास्वपा पर्सागढी नगर समितिले आयोजना गरेको रक्तदान कार्यक्रम अत्यन्तै सराहनीय छ। आज संकलन भएको रगतले धेरै बिरामीको जीवन बचाउन सहयोग पुग्ने विश्वास लिएको छु। रक्तदान सबैभन्दा ठूलो मानवीय सेवा हो।”
कार्यक्रममा पर्सागढी नगरपालिकाका नगर प्रमुख गोकर्ण पाठक लगायत स्थानीय जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, समाजसेवी तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो।
नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार सेवा केन्द्र वीरगञ्जका प्राविधिक सौरभराज पाण्डे, विवेक यादव, शनि यादव र शिवजित गिरीको प्राविधिक सहयोगमा रक्त संकलन गरिएको आयोजकले जनाएको छ।
रक्तदान गर्नेहरूमा सांसद सुशील साह कानु, बबिना क्षेत्री, देवी तमाङ, सर्फु आलम, सुशील पौडेल, रविशंकर चौधरी, रैसु आलम अन्सारी, केदार ठाकुर, सुन्दर न्यौपाने, सुनिल क्षेत्री लगायतले रक्तदान गरेको रास्वपाका युवा नेता बुद्धिराज पौडेलले बताए ।



COMMENTS