बलिराम शुक्ला बिरुवा गुठी,२७असार/ दुई दिनदेखि लगातार परेको अविरल वर्षापछि पर्साको थरुहट तथा बजियान क्षेत्रका किसान असारे धान रोपाइँमा व्यस्त बनेका छन्। लामो समयसम्म वर्षा नहुँदा आकासे पानीको भरमा खेती गर्ने किसानहरू चिन्तित भए पनि पर्याप्त पानी परेसँगै खेतमा रोपाइँको चहलपहल बढेको हो।
लामो खडेरीका कारण खेतमा पर्याप्त पानी नजम्दा धान रोपाइँ प्रभावित भएको थियो। पछिल्लो वर्षाले खेतहरूमा आवश्यक पानी भरिएपछि किसानहरू उत्साहका साथ बिहानदेखि साँझसम्म रोपाइँमा जुटिरहेका छन्।
पर्सागढी नगरपालिका–३ का किसान नन्दलाल चौधरीले वर्षा नहुँदा यस वर्ष धान रोप्न नपाइने हो कि भन्ने चिन्ता रहेको बताए। "दुई दिनको लगातार वर्षापछि खेतमा पर्याप्त पानी जमेको छ। अब ढुक्क भएर धान रोप्न थालेका छौँ," उनले खुसी व्यक्त गरे।
सिँचाइका लागि बोरिङ र कुलोको सुविधा भएका क्षेत्रमा समेत लामो समय वर्षा नहुँदा पानीका स्रोत सुक्न थालेका थिए। तर पछिल्लो भारी वर्षाले ती क्षेत्रका खेतहरूमा समेत पर्याप्त पानी पुगेपछि रोपाइँका लागि अनुकूल वातावरण बनेको किसानहरूको भनाइ छ।
समयमै वर्षा भएपछि यस वर्ष धान उत्पादन राम्रो हुने अपेक्षा किसानहरूले गरेका छन्। कृषि कार्यले गाउँघरमा फेरि चहलपहल बढेको छ भने किसानहरू राम्रो उत्पादनको आशासहित असारे रोपाइँलाई तीव्रता दिइरहेका छन्।


COMMENTS