पोखरिया,७ साउन/ जगरनाथपुर गाउँपालिकाअन्तर्गत कार्यरत बालविकास शिक्षक, विद्यालय कर्मचारी तथा विद्यालय परिचरहरूले तलब वृद्धि, सेवा–सुविधा विस्तार र सामाजिक सुरक्षाको सुनिश्चिततासहित विभिन्न माग राख्दै गाउँपालिकाका उपाध्यक्ष तथा शिक्षा शाखा प्रमुखलाई ज्ञापनपत्र बुझाएका छन्।
उनीहरूले लामो समयदेखि न्यून पारिश्रमिकमा कार्य गर्नुपरेको, सेवा–सुविधा अपर्याप्त रहेको तथा सामाजिक सुरक्षाको व्यवस्था नहुँदा दैनिक जीवनयापनमा कठिनाइ भइरहेको उल्लेख गर्दै स्थानीय तहमार्फत आफ्ना जायज मागहरूको सम्बोधन गर्न आग्रह गरेका छन्।
ज्ञापनपत्रमा बालविकास शिक्षक, विद्यालय कर्मचारी तथा परिचरहरूको तलब वृद्धि गर्न, नियमित सेवा–सुविधाको व्यवस्था गर्न, सामाजिक सुरक्षा कोषमा आबद्ध गराउन, कार्यरत कर्मचारीहरूको पेशागत सम्मान र सेवाको स्थायित्व सुनिश्चित गर्न तथा नेपाल सरकारबाट जारी भएका नीति तथा निर्णयहरू प्रभावकारी रूपमा कार्यान्वयन गर्न माग गरिएको छ।
ज्ञापनपत्र बुझाउने क्रममा सहभागीहरूले विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धिमा आफूहरूको महत्वपूर्ण भूमिका रहे पनि त्यसअनुसारको सेवा–सुविधा प्राप्त गर्न नसकेको गुनासो गरेका थिए। उनीहरूले आफ्ना मागहरू समयमै सम्बोधन नभए थप आन्दोलनका कार्यक्रम सार्वजनिक गर्न बाध्य हुने चेतावनीसमेत दिएका छन्।
ज्ञापनपत्र बुझ्दै गाउँपालिकाका उपाध्यक्ष तथा शिक्षा शाखा प्रमुखले कर्मचारीहरूको मागप्रति गाउँपालिका सकारात्मक रहेको बताउँदै कानुनी व्यवस्था, स्थानीय तहको अधिकार क्षेत्र तथा उपलब्ध स्रोत–साधनका आधारमा मागहरूको अध्ययन गरी आवश्यक पहल गरिने आश्वासन दिएका छन्।
बालविकास शिक्षक, विद्यालय कर्मचारी तथा परिचरहरूले आफ्ना मागहरूको सम्बोधनका लागि सम्बन्धित निकायसँग निरन्तर समन्वय र संवाद जारी राख्ने बताएका छन्


COMMENTS