धर्मेन्द्र चौरसिया,३०पोखरिया/पोखरिया प्रादेशिक अस्पताल मा आर्थिक सङ्कटका कारण विगत एक वर्षदेखि औषधि सेवा ठप्प हुँदा सेवाग्राहीहरू समस्यामा परेका छन्। निश्शुल्क तथा स्वास्थ्य बीमा अन्तर्गत उपलब्ध गराइने औषधि अभाव भएपछि बिरामीहरू निजी मेडिकलबाट महँगो मूल्यमा औषधि किन्न बाध्य भएका छन्।
औषधि सेवासँगै गत चैतदेखि आवश्यक केमिकल अभावका कारण प्रयोगशाला सेवा बन्द छ भने भुक्तानी विवादका कारण एक्सरे तथा भिडियो एक्सरे सेवासमेत सञ्चालनमा छैन। यसले बिरामीहरू सामान्य परीक्षणका लागि पनि निजी स्वास्थ्य संस्थामा जानुपर्ने अवस्था सिर्जना भएको छ।
यसबीच अस्पतालका केही कर्मचारीले चालु आर्थिक वर्षमा जनही ८० हजार रुपैयाँका दरले जोखिम भत्ता बुझेको तथ्य सार्वजनिक भएको छ। स्रोतका अनुसार सेवा बन्द रहेका एक्सरे तथा प्रयोगशाला शाखामा कार्यरत कर्मचारीहरूले उक्त भत्ता प्राप्त गरेका हुन्।
प्रदेश सरकारबाट प्राप्त १८ लाख रुपैयाँमध्ये दुई थान एसी, केही शय्या खरिद तथा जोखिम भत्ता वितरणमा खर्च गरिएको स्रोतको दाबी छ। तर औषधि खरिद, प्रयोगशालाका लागि आवश्यक केमिकल व्यवस्थापन तथा बन्द सेवा सञ्चालनमा पर्याप्त पहल नभएको आरोप लागेको छ।
स्थानीयवासीले अस्पतालका अत्यावश्यक सेवा तत्काल सञ्चालन गर्न, औषधिको नियमित आपूर्ति सुनिश्चित गर्न तथा सार्वजनिक रकमको खर्चबारे पारदर्शी छानबिन गर्न प्रदेश सरकारसँग माग गरेका छन्।


COMMENTS