पोखरिया,२७ असार/ मानव उपकार सेवा संस्था परिवारको आयोजनामा लागू पदार्थ दुर्व्यसन तथा यसको रोकथामसम्बन्धी जनचेतनामूलक कार्यक्रम श्री जिल्ला उच्च माध्यमिक रामदेव कलवार माध्यमिक विद्यालय, पोखरियामा सम्पन्न भएको छ।
संस्थाका अध्यक्ष अम्बिका चौहानको अध्यक्षतामा आयोजित कार्यक्रममा विद्यालयका प्रधानाध्यापक राजकुमार साह, नेपाल प्रहरीका असई संजय यादव तथा राष्ट्रिय स्वतन्त्र पार्टीका नगर अध्यक्ष दिलीप ठाकुरलगायतले लागू पदार्थको बढ्दो दुरुपयोगले व्यक्ति, परिवार र समाजमा पार्ने नकारात्मक प्रभावबारे प्रकाश पार्दै विद्यार्थीहरूलाई दुर्व्यसनबाट टाढा रहन आग्रह गरेका थिए।
कार्यक्रममा प्रशिक्षक अजय कुमार कुर्मीले लागू पदार्थ दुर्व्यसनका कारण, त्यसबाट हुने शारीरिक, मानसिक, सामाजिक तथा आर्थिक असर, रोकथामका उपाय र सचेतनाको महत्वबारे प्रशिक्षण दिएका थिए। उनले विद्यार्थीहरूलाई गलत संगतबाट बच्न, आत्मअनुशासन कायम गर्न र सकारात्मक जीवनशैली अपनाउन प्रेरित गरेका थिए।
कार्यक्रमको सहजीकरण कृष्ण पटेलले गरेका थिए। कार्यक्रममा विद्यालयका कक्षा ८, ९ र १० मा अध्ययनरत विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागी विद्यार्थीहरूले कार्यक्रमलाई ज्ञानवर्धक र समयसापेक्ष रहेको बताउँदै यस्ता जनचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिनुपर्ने धारणा व्यक्त गरेका थिए।
आयोजक संस्थाले युवा तथा किशोर–किशोरीहरूमा लागू पदार्थ दुर्व्यसनविरुद्ध सचेतना अभिवृद्धि गर्ने उद्देश्यले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई विभिन्न विद्यालय तथा समुदायमा निरन्तर सञ्चालन गर्ने जनाएको छ।



COMMENTS