बलिराम शुक्ला पर्सागढी,२३ असार/ सरकारले निर्धारण गरेको समर्थन मूल्य प्रभावकारी रूपमा कार्यान्वयन हुन नसक्दा पर्साका किसानहरू चैते धान निकै सस्तो मूल्यमा बिक्री गर्न बाध्य भएका छन्। बजारमा बिचौलियाको प्रभाव बढ्दै जाँदा किसानले आफ्नो उत्पादनको उचित मूल्य पाउन नसकेको गुनासो गरेका छन्।
पर्सागढी नगरपालिका–३ का किसान आशिष अधिकारीका अनुसार हाल किसानहरूले चैते धान प्रतिक्विन्टल १,९०० देखि २,००० रुपैयाँसम्ममा बिक्री गरिरहेका छन्। जबकि सरकारले चालु वर्षका लागि चैते धानको समर्थन मूल्य प्रतिक्विन्टल २,८५६ रुपैयाँ ४९ पैसा निर्धारण गरेको छ।
सरकारले तोकेको समर्थन मूल्य र बजार मूल्यबीच करिब ८५० रुपैयाँभन्दा बढीको अन्तर हुँदा किसान प्रत्यक्ष रूपमा आर्थिक मारमा परेका छन्। समर्थन मूल्यअनुसार सरकारी खरिदको प्रभावकारी व्यवस्था नहुँदा बिचौलियाले कम मूल्यमा धान खरिद गरी बढी नाफा कमाइरहेको किसानहरूको आरोप छ।
किसानहरूका अनुसार उत्पादन लागत बढ्दो क्रममा रहे पनि बिक्री मूल्य न्यून हुँदा खेतीबाट उचित आम्दानी लिन कठिन भएको छ। उनीहरूले सम्बन्धित निकायले किसानको हितमा प्रभावकारी पहल नगरेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्।
"किसानको पक्षमा न सरकारले प्रभावकारी कदम चालिरहेको छ, न त सम्बन्धित निकायले बजार अनुगमन गरी समर्थन मूल्य कार्यान्वयन गराएको छ," किसानहरूको गुनासो छ।
किसानहरूले आफूहरूले पसिना बगाएर उत्पादन गरेको धानको मूल्य बिचौलियाले होइन, सरकारले तोकेको समर्थन मूल्यका आधारमा सुनिश्चित गरिनुपर्ने माग गरेका छन्। उनीहरूले सरकारी निकायले तत्काल समर्थन मूल्यअनुसार धान खरिदको व्यवस्था गर्न, बजार अनुगमन कडा बनाउन तथा किसानलाई उचित मूल्य सुनिश्चित गर्न आवश्यक कदम चाल्न आग्रह गरेका छन।


COMMENTS