पोखरिया,२१ असार — पर्साको पोखरिया नगरपालिका–९ स्थित हनुमान मन्दिर परिसरमा निर्माणाधीन पार्कमा आइतबार लायन्स क्लब अफ पोखरियाको आयोजनामा वृहत् वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा वक्ताहरूले हनुमान मन्दिर परिसरमा पार्क निर्माणका लागि प्रदेश सरकारबाट विनियोजित बजेट आपसी विवादका कारण समयमै खर्च हुन नसकी फ्रिज हुनु दुःखद र दुर्भाग्यपूर्ण भएको धारणा व्यक्त गरे। उनीहरूले विकास निर्माणका योजनालाई सफल बनाउन सबै पक्षबीच आपसी समझदारी, सहकार्य र एकता अपरिहार्य रहेकोमा जोड दिएका थिए। वक्ताहरूले हनुमान मन्दिर परिसरलाई हरियालीयुक्त, स्वच्छ, आकर्षक तथा धार्मिक एवं पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न स्थानीय सरकार, राजनीतिक दल, सामाजिक संघसंस्था र समुदायबीच साझा प्रतिबद्धता आवश्यक रहेको उल्लेख गरे।
मन्दिर परिसरमा विभिन्न जातका बिरुवा रोपिएको थियो। सहभागीहरूले वातावरण संरक्षण, हरियाली प्रवर्द्धन तथा धार्मिक क्षेत्रको सौन्दर्य अभिवृद्धिमा वृक्षारोपण अभियानले महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरेका थिए।कार्यक्रमका क्रममा हनुमान मन्दिरको जग्गा नामसारी प्रक्रियालाई सफल बनाउन विशेष भूमिका निर्वाह गर्नुभएका गोरख साह तेलीलाई उहाँको योगदानको कदर गर्दै प्रमुख अतिथि जनार्दन सिंह क्षेत्रीले दोसल्ला ओढाएर सम्मान गर्नुभयो।
लायन्स क्लब अफ पोखरियाका अध्यक्ष नेजामुद्दीन शमानीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रदेश सभा सदस्य तथा पूर्व कृषि मन्त्री जनार्दन सिंह क्षेत्री प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। कार्यक्रममा पूर्व नगर प्रमुख दिपनारायण रौनियार, श्रीकिसुन चौहान, वडा अध्यक्ष नौशाद आलम, लक्ष्मण साह, रामबाबु चौहान, लायन्स क्लब अफ पोखरियाका उपाध्यक्ष तथा नेपाली कांग्रेसकी महिला नेत्री आशा चौहान, क्लबका सदस्य, विभिन्न राजनीतिक दलका प्रतिनिधि तथा स्थानीय बुद्धिजीवीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
.jpeg)


COMMENTS