पर्साको सखुवा प्रसौनी गाउँपालिका वडा नं. ६ मा जुवातास खेलिरहेको अवस्थामा ७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय पोखरीयाबाट खटिएको प्रहरी टोलीले दिउँसो करिब २ बजेको समयमा छापा मारेर उनीहरूलाई पक्राउ गरेको हो।
इलाका प्रहरी कार्यालय पोखरीयाका प्रहरी निरीक्षक प्रदीप पौडेलको नेतृत्वमा गएको टोलीले निजहरूको साथ बाट नगद २९ हजार ५०० रुपैयाँ समेत बरामद गरिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार पक्राउ परेका व्यक्तिहरूमाथि थप अनुसन्धान भइरहेको छ । समाजमा जुवातास लगायतका अवैध गतिविधिले सामाजिक वातावरणमा नकारात्मक असर पार्ने भएकाले यस्ता गतिविधिविरुद्ध निगरानी र कारबाहीलाई निरन्तरता दिइएको जनाइएको छ।
प्रहरी निरीक्षक पौडेलले अवैध गतिविधि नियन्त्रण प्रहरीको प्राथमिकतामा रहेको बताउँदै नागरिकको सूचना र सहकार्यले यस्ता कारबाही प्रभावकारी बन्दै गएको उल्लेख गर्नुभयो। उहाँले आगामी दिनमा पनि जुवातास, लागूऔषध तथा अन्य गैरकानुनी गतिविधिविरुद्ध थप सशक्त अभियान सञ्चालन गरिने जानकारी दिनुभयो।
साथै, यस्ता गतिविधिबारे जानकारी भएमा नजिकको प्रहरी कार्यालयमा सूचना दिन उहाँले सर्वसाधारणसँग आग्रह गर्नुभयो। पर्सा जिल्लाभर अवैध गतिविधि नियन्त्रणका लागि प्रहरीको निगरानी थप कडाइ गरिएको बताइएको छ ।


COMMENTS