पोखरिया १० असार/ पोखरिया नगरपालिकामा लामो समयदेखि भ्रष्टाचार तथा अनियमितताका आरोपहरू उठ्दै आएका बेला रकम बाँडफाँड भइरहेको दाबी गरिएको एउट...
पोखरिया १० असार/ पोखरिया नगरपालिकामा लामो समयदेखि भ्रष्टाचार तथा अनियमितताका आरोपहरू उठ्दै आएका बेला रकम बाँडफाँड भइरहेको दाबी गरिएको एउटा तस्बिर सार्वजनिक भएपछि नयाँ विवाद उत्पन्न भएको छ ।सार्वजनिक तस्बिरमा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत कौशलकुमार झा र हाल कार्यरत लेखापाल रामवीर चौरसिया रकम बाँडफाँड गरिरहेको अवस्थामा देखिएको दाबी गरिएको छ । तस्बिर सार्वजनिक भएसँगै नगरपालिकाभित्र आर्थिक कारोबार तथा प्रशासनिक गतिविधिबारे विभिन्न प्रश्न उठ्न थालेका छन् ।
नगरपालिकामा सेवाग्राहीसँग घूस लिने, प्रक्रिया पूरा नगरी नियुक्ति गर्ने, कम काम भएका योजनामा बढी भुक्तानी गर्ने तथा काम नगरेका कम्पनीलाई समेत रकम उपलब्ध गराउने जस्ता आरोपहरू विगतदेखि नै उठ्दै आएका छन् । यिनै विषयलाई लिएर केही दिनयता स्थानीय युवाहरू आन्दोलनमा समेत उत्रिएका छन् ।यसैबीच, सार्वजनिक भएको तस्बिरले नगरपालिकाभित्र हुने भनिएका आर्थिक चलखेलबारे थप चर्चा र चासो बढाएको छ । स्रोतका अनुसार तस्बिर सार्वजनिक भएपछि लेखापाल चौरसियाले उक्त रकम आफूहरूमा मात्र सीमित नभई सरोकारवाला जनप्रतिनिधिसम्म पुग्ने गरेको दाबी गरेका छन् । यद्यपि उनले सो रकम कमिशन वा घूस नभएको बताउँदै आएका छन् ।
घटनाबारे निमित्त प्रमुख प्रशासकीय अधिकृत झासँग प्रतिक्रिया लिंदा उनले आफूले पोखरिया नगरपालिकाको गतिविधिलाई लामो समयदेखि नजीकबाट नियाल्दै आएको बताएका छन् । “कसले के गर्छ भन्ने कुरा सबैलाई थाहा छ,” भन्दै उनले सार्वजनिक तस्बिरका विषयमा आफूलाई कार्यालयभित्रकै केही कर्मचारीले निशाना बनाएको सङ्केत गरेका छन् ।
तस्बिर सार्वजनिक गराउने विषयमा नगरपालिकाकै कर्मचारी सञ्जय पाण्डेको नाम जोडिए पनि यसबारे आधिकारिक पुष्टि हुन सकेको छैन । केही कर्मचारीहरूले भने पाण्डेको कार्यशैली र इमानदारितामाथि समेत प्रश्न उठाएका छन् ।
नगरप्रमुख प्रद्युम्न चौहानले घटनालाई सामान्यरूपमा लिनुपर्ने बताएका छन् । उनका अनुसार सार्वजनिक भएको तस्बिर करीब एक महीना अघिको हो र अहिले मात्र बाहिर आएको हो । उनले विगतका जिल्ला समन्वय समितिका कर्मचारीहरूको कार्यशैलीका कारण पालिकामा विभिन्न समस्या देखिएको दाबी गर्दै तस्बिरमा देखिएको रकम घूस नभई तलब तथा भत्तासम्बन्धी रकम भएको जिकिर गरेका छन् ।
घटनाको वास्तविकता के हो भन्ने विषयमा आधिकारिक छानबीन हुनुपर्ने माग स्थानीयस्तरमा उठ्न थालेको छ । तस्बिर सार्वजनिक भएसँगै नगरपालिकाको आर्थिक पारदर्शिता र सुशासनबारे बहस थप चर्किएको छ ।

COMMENTS