विरगंज, १९ जेठ/
पर्साको वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहलाई पर्सा प्रहरीले पक्राउ गरेको छ। जिल्ला अदालत पर्साबाट पक्राउ पुर्जी जारी भएपछि फरार रहेका मेयर सिंहलाई ७ दिन पछाडि प्रहरीले पक्राउ गरेको हो ।
विशेष सूचनाको आधारमा गरिएको अप्रेशनबाट मेयर सिंहलाई पर्साको ठोरी एरियामा लुकीछिपी बसिरहेको अवस्थामा आज बिहान सवा ६ बजेतिर पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रवक्ता एवम् सूचना अधिकारी (डिएसपी) हरि बहादुर बस्नेतले जानकारी दिए।
उनका अनुसार पक्राउ पुर्जी जारी भएपछि मेयर एकदिन अदालत पुगेर त्यसपछि फरार भएका थिए। गएको १२ गते जिल्ला अदालत पर्साले लिखत सम्बन्धी कसुरमा पक्राउ गर्न मेयर सिंह सहित ३ जना विरूद्ध पक्राउ पुर्जी जारी गरेको थियो । पक्राउ परेका मेयर सिंहलाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखी थप सोधपुछ चलिरहेको पर्सा प्रहरीले जानकारी दिएको छ ।



COMMENTS