धोबनी,पर्सा,१असार/ धोबीनी गाउँपालिकाको आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम तय गर्न सोमबार बोलाइएको बैठक प्रमुख प्रशासकीय अधिकृत कृष्णा प्रसाद खतिवडाको अनुपस्थितिका कारण स्थगित भएको छ।
बिहान ११ बजेका लागि तय गरिएको बैठकमा जनप्रतिनिधि, कर्मचारी, स्थानीयवासी र सञ्चारकर्मी उपस्थित भए पनि प्रमुख प्रशासकीय अधिकृत उपस्थित नभएपछि कार्यक्रम अगाडि बढ्न सकेन। गाउँपालिका अध्यक्ष मदन प्रसाद चौहानका अनुसार खतिवडाकी आमाको स्वास्थ्य अवस्था बिग्रिएपछि उनी अस्पताल जानुपरेको जानकारी प्राप्त भएको थियो। दिनभर सम्पर्क प्रयास गरिए पनि सम्पर्क हुन नसकेपछि बैठक स्थगित गरिएको हो।
बैठक स्थगित भएपछि वडा नं. ३ का अध्यक्ष राजकिशोर प्रसाद कुर्मीसहित जनप्रतिनिधिहरूले असन्तुष्टि जनाएका छन्। उनीहरूले नीति तथा कार्यक्रम जस्तो महत्वपूर्ण विषयमा दिनभर प्रतीक्षा गराउँदा जनप्रतिनिधिको सम्मानमा ठेस पुगेको बताएका छन्।
स्थानीयवासीहरूले गाउँपालिकामा जनप्रतिनिधि र प्रशासनबीच समन्वय अभाव रहेको गुनासो गर्दै यसले विकास निर्माण तथा सेवा प्रवाहमा असर परेको बताएका छन्।
गाउँपालिकाले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने नयाँ मिति भने हालसम्म सार्वजनिक गरेको छैन ।


COMMENTS