पर्सागढी,१५ असार/ सात दिनअघि सामाजिक सञ्जालमा साइकलमार्फत काठ तस्करी गरिएको भिडियो भाइरल भएपछि खोजीको सूचीमा रहेका एक आरोपित प्रहरी नियन्त्रणबाटै फरार भएको घटनाले पर्सामा नयाँ प्रश्न खडा गरेको छ।
इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीका प्रहरी निरीक्षक समुन्नत अधिकारीको नेतृत्वमा खटिएको टोलीले आइतबार साँझ करिब ५ बजे पर्सागढी नगरपालिका–४, पसुरामपुर टोलबाट काठ तस्करीका आरोपित मेराजुल देवानलाई पक्राउ गरेको जनाएको थियो।
तर पक्राउ परेको केही समयमै देवान बडनिहार प्रहरी चौकीको थुनुवा कक्षबाटै फरार भएको स्थानीय स्रोतहरूले दाबी गरेका छन्। घटनाबारे प्रहरीले कुनै आधिकारिक जानकारी सार्वजनिक नगरेको भन्दै घटनालाई लुकाउने प्रयास भएको आरोपसमेत लागेको छ।
स्रोतका अनुसार पक्राउपछि देवानलाई बडनिहार प्रहरी चौकीमा राखिएको थियो। त्यहीँबाट उनी प्रहरीको निगरानी छल्दै फरार भएका हुन्। फरार हुने परिस्थितिबारे प्रहरीले अहिलेसम्म कुनै औपचारिक धारणा सार्वजनिक गरेको छैन।
यसअघि जिल्ला प्रहरी कार्यालय पर्साले प्रेस विज्ञप्ति जारी गर्दै मेराजुल देवानलाई पक्राउ गरी आवश्यक कारबाहीका लागि सब–डिभिजन वन कार्यालय, सबैयामा बुझाइएको जनाएको थियो। तर सब–डिभिजन वन कार्यालय सबैयाका रेन्जर भुपाल रोकायाले भने देवानलाई प्रहरीले वन कार्यालयमा नबुझाएको बताएका छन्।
यस्तै, डिभिजन वन कार्यालय पर्साका प्रमुख मन्जुर अहमदले पनि पक्राउ परेका देवानलाई वन कार्यालयमा नल्याइएको र घटनाबारे आफू अनभिज्ञ रहेको प्रतिक्रिया दिएका छन्।
घटनाबारे प्रतिक्रिया माग्दा जिल्ला प्रहरी कार्यालय पर्साका डीएसपी राजु कार्कीले "बुझेर मात्र जानकारी दिन्छु" भन्दै तत्काल कुनै स्पष्ट जानकारी दिन चाहेनन्।
उता सोमबार बिहानदेखि देवानको गाउँ आसपास क्षेत्रमा प्रहरीको बाक्लो परिचालन गरिएको स्थानीयवासीले बताएका छन्। पक्राउ, वन कार्यालयलाई बुझाइएको दाबी, सम्बन्धित निकायको अस्वीकार र त्यसपछि आरोपित फरार भएको घटनाले प्रहरीको कार्यशैलीमाथि प्रश्न उठ्नुका साथै घटनाबारे थप रहस्य गहिरिएको छ।


COMMENTS