बलिराम शुक्ला,विरुवा गुठी,३१ जेठ / पर्साको सखुवा प्रसौनी गाउँपालिका–२ स्थित वडा कार्यालय पञ्चगावाँ बजार नजिकबाट जुवातास खेलिरहेको अवस्थामा १२ जनालाई प्रहरीले पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रहरी निरीक्षक सुमन्न्त अधिकारीको नेतृत्वमा खटिएको प्रहरी टोलीले विशेष सूचनाको आधारमा आइतबार दिउँसो छापा मार्दा जुवातास खेल्दै गरेका १२ जनालाई नियन्त्रणमा लिएको हो। प्रहरीले उनीहरूको साथबाट नगद रु ४१ हजार ३३५ र जुवामा प्रयोग भइरहेको ताससमेत बरामद गरेको जनाएको छ।
प्रहरीका अनुसार पक्राउ परेका सबै व्यक्तिलाई हाल इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीमा राखी थप अनुसन्धान भइरहेको छ। आवश्यक कानुनी प्रक्रिया पूरा गरी उनीहरूलाई जिल्ला प्रहरी कार्यालय पर्सा पठाउने तयारी भइरहेको प्रहरी निरीक्षक अधिकारीले जानकारी दिए।
स्थानीयवासीका अनुसार वडा कार्यालय नजिकैको उक्त क्षेत्रमा लामो समयदेखि जुवातास खेलिने गतिविधि हुँदै आएको थियो। प्रहरीले समयमै छापा मारेर जुवातासमा संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिएपछि स्थानीयले प्रहरीको कदमको स्वागत गरेका छन्। प्रहरीले जुवातास तथा अन्य अवैध गतिविधिविरुद्ध अभियानलाई निरन्तरता दिने जनाएको छ।

Comments
Post a Comment