पोखरिया,१६ असार/ पर्साको सीमावर्ती क्षेत्रबाट सशस्त्र प्रहरीले प्रतिबन्धित लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा पर्साको बहुदरमाई नगरपालिका–८ रामनगरी निवासी ५८ वर्षीय मनोहर सहनी रहेका छन्। उनलाई सोमबार बिहान करिब २ बजे बिन्दबासिनी गाउँपालिका–४ अमरपट्टीस्थित नेपाल–भारत सीमा क्षेत्रबाट नियन्त्रणमा लिइएको हो।
सशस्त्र प्रहरी बल, नेपाल बीओपी प्रसौनीभाठ्ठा र बीओपी अमरपट्टीबाट खटिएको संयुक्त पैदल गस्ती टोलीले नेपालबाट भारततर्फ जाँदै गरेका सहनीलाई शंकास्पद अवस्थामा फेला पारी जाँच गरेको थियो। जाँचका क्रममा उनले प्लास्टिकको बोराभित्र लुकाएर लैजाँदै गरेको २ पोकामा रहेको करिब ११ किलोग्राम गाँजा जस्तो देखिने प्रतिबन्धित पदार्थ बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ ।
सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण मुख्यालय पर्साका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक मोहनराज निरौलाका अनुसार पक्राउ परेका सहनी र बरामद गरिएको लागूऔषध आवश्यक कानुनी कारबाहीका लागि प्रहरी चौकी अमरपट्टीमा बुझाइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

COMMENTS