रौतहट, १५ असार/ २३औँ राष्ट्रिय धान दिवस तथा दही–चिउरा खाने दिनको अवसरमा रौतहटको कटहरिया नगरपालिका–६ फतेपुरमा राष्ट्रिय किसान महासंघको आयोजनामा विशेष रोपाइँ कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेल प्रमुख अतिथिका रूपमा सहभागी भए भने मधेश प्रदेशका मुख्यमन्त्री कृष्ण यादव विशिष्ट अतिथिका रूपमा उपस्थित थिए। मुख्यमन्त्री यादवले धान रोपेर कार्यक्रमको शुभारम्भ गर्दै कृषि क्षेत्रलाई उत्पादनमुखी, आधुनिक र व्यवसायिक बनाउनु आजको आवश्यकता भएको बताए। उनले किसानको श्रम र योगदानको सम्मान गर्दै प्रदेश सरकारले कृषि क्षेत्रको विकासलाई प्राथमिकतामा राखेर काम गरिरहेको उल्लेख गरे।
प्रमुख अतिथि महामन्त्री प्रदीप पौडेल ले नेपालको अर्थतन्त्रको मुख्य आधार कृषि भएकाले किसानलाई उत्पादन वृद्धि, आधुनिक प्रविधि, सिँचाइ, मल–बीउ तथा बजार व्यवस्थापनमा राज्यले थप प्रभावकारी सहयोग गर्नुपर्ने धारणा राखे। उनले किसानको जीवनस्तर उकास्न कृषि क्षेत्रमा दीर्घकालीन नीति र लगानी आवश्यक रहेको बताए।
मधेश प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री श्याम पटेल ले मधेश प्रदेश सरकारले कृषिलाई रोजगारी, आत्मनिर्भरता र आर्थिक समृद्धिको मुख्य आधारका रूपमा अघि बढाएको बताए। उनले किसानलाई आधुनिक खेतीतर्फ आकर्षित गर्न कृषि अनुदान, प्रविधि विस्तार, सिँचाइ तथा उत्पादनको बजारीकरणमा प्रदेश सरकार प्रतिबद्ध रहेको उल्लेख गरे साथै उहाँले केन्द्र सरकारले सम्मान ब्यवहार नगरेकाे आरोप समेत लगाय ।
कार्यक्रममा नेपाली कांग्रेसकी केन्द्रीय सदस्य प्रतिमा गौतम, नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रमोदहरि गुरागाईं, नेपाली कांग्रेसकी केन्द्रीय सदस्य अञ्जु झा, मधेश प्रदेशका स्वास्थ्यमन्त्री नागेन्द्र साह, प्रतिनिधिसभा सदस्य डा. फिर्दोस आलम, नेपाली कांग्रेस रौतहटका सभापति सुनिल यादव, राष्ट्रिय किसान महासंघका अध्यक्ष गणेशचन्द्र तिमिल्सिना तथा किसान महासंघ मधेश प्रदेशका अध्यक्ष सन्तलाल साह लगायत नेता, जनप्रतिनिधि, किसान तथा स्थानीयवासीको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रममा धान रोपाइँसँगै कृषि उत्पादन वृद्धि, किसानको सम्मान, कृषि आधुनिकीकरण तथा खाद्य सुरक्षाको सन्देश प्रवाह गरिएको आयोजकले जनाएको छ।



COMMENTS