पोखरिया,५ असार/ पर्साको जिराभवानी गाउँपालिकाको १७औँ गाउँसभा शुक्रबार सम्पन्न भएको छ। गाउँसभाले आर्थिक वर्ष २०८३/०८४ का लागि कुल ४० करोड ८३ ल...
पोखरिया,५ असार/ पर्साको जिराभवानी गाउँपालिकाको १७औँ गाउँसभा शुक्रबार सम्पन्न भएको छ। गाउँसभाले आर्थिक वर्ष २०८३/०८४ का लागि कुल ४० करोड ८३ लाख रुपैयाँ बराबरको बजेट प्रस्तुत तथा अनुमोदन गरेको छ।
प्रस्तुत बजेटअनुसार शिक्षा क्षेत्र विकासका लागि २ करोड रुपैयाँ, स्वास्थ्य क्षेत्रका लागि १ करोड रुपैयाँ, कृषि विकासका लागि १ करोड ५० लाख रुपैयाँ, भौतिक पूर्वाधार विकासका लागि ५ करोड रुपैयाँ तथा सामाजिक विकासका लागि १ करोड ५० लाख रुपैयाँ विनियोजन गरिएको छ। त्यस्तै अध्यक्षस्तरीय योजनाका लागि ६० लाख रुपैयाँ, उपाध्यक्ष कार्यक्रमका लागि ६० लाख रुपैयाँ, वडास्तरीय योजनाका लागि प्रत्येक वडामा ६० लाख रुपैयाँ तथा कार्यपालिकास्तरीय योजनाका लागि २० लाख रुपैयाँ बजेट प्रस्ताव गरिएको प्रमुख प्रशासकीय अधिकृत अमित गिरीले जानकारी दिए।
गाउँसभालाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष अनोज चौधरीले शिक्षा, स्वास्थ्य, कृषि र पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर बजेट तथा कार्यक्रम तयार गरिएको बताए। उनले आगामी वर्षका कार्यक्रम गाउँपालिकाको समग्र विकास, सेवा प्रवाहमा सुधार र जनअपेक्षा सम्बोधनमा केन्द्रित हुने उल्लेख गरे।
उपाध्यक्ष रेखा चौधरीले यस वर्षको बजेट विगतका तुलनामा थप जनमुखी र आवश्यकतामुखी रहेको बताइन्। प्रमुख प्रशासकीय अधिकृत अमित गिरीले बजेटको प्रभावकारी कार्यान्वयन, पारदर्शिता र सुशासनलाई प्राथमिकता दिँदै योजनाहरू समयमै सम्पन्न गरिने प्रतिबद्धता व्यक्त गरे। साथै उनले कर्मचारीहरूलाई सेवाग्राहीप्रति जिम्मेवार र उत्तरदायी भएर काम गर्न निर्देशन दिए।
जितपुरस्थित कृषि भवनको सभाहलमा आयोजित गाउँसभामा वडा अध्यक्षहरु रामशरण खवास, महादेव महतो थारू, सुरज राय, राजेश्वर महतो, कार्यपालिका सदस्य सरोज चौरसिया, लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए भने कार्यक्रममा कर्मचारी तथा स्थानीय सरोकारवालाहरूको उपस्थिति रहेको थियो। बजेटमाथि छलफल गरी आवश्यक सुझावसहित गाउँसभाले सर्वसम्मत रूपमा अनुमोदन गरेको थियो। कार्यक्रमको सञ्चालन जितेन्द्र मिश्राले गर्नुभएको थियो।
COMMENTS