बलिराम शुक्ला, बिरुवागुठी,१ असार / पर्सागढी नगरपालिकाको आयोजना तथा बागमती सेवा समाजको समन्वयमा तीनदिने निःशुल्क एआई एक्स–रे, क्षयरोग तथा पाठेघर परीक्षण (VIA) शिविर सोमबारदेखि सुरु भएको छ।पर्सागढी नगरपालिका–३ स्थित वडा कार्यालय तथा बागबाना स्वास्थ्य चौकीमा सञ्चालन गरिएको शिविरमा पहिलो दिन २०० भन्दा बढी व्यक्तिको छातीको एआई एक्स–रे तथा खकार परीक्षण गरिएको छ। परीक्षणका क्रममा ८ जनामा क्षयरोग (टीबी) संक्रमण पुष्टि भएको स्वास्थ्यकर्मीहरूले जानकारी दिएका छन्।
त्यसैगरी, ९० जना महिलाको पाठेघर परीक्षण (VIA) गर्दा २ जनामा पाठेघरको सम्भावित क्यान्सरको संकेत देखिएको बताइएको छ। ती महिलाहरूलाई थप उपचार तथा परामर्शका लागि सम्बन्धित स्वास्थ्य संस्थामा रिफर गरिएको स्वास्थ्यकर्मीहरूले जनाएका छन्।
शिविरको उद्घाटन पर्सागढी नगरपालिका–३ का वडा अध्यक्ष शुकमान तामाङको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा पर्सागढी नगरपालिकाका नगर प्रमुख गोकर्ण पाठक प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए।
निःशुल्क स्वास्थ्य शिविरमा डा. अभिषेक चौधरी र डा. अभिनय सिंहको नेतृत्वमा पर्सागढी नगरपालिकाका स्वास्थ्यकर्मी तथा महिला स्वास्थ्य स्वयंसेविकाहरू परिचालित रहेका छन्।
पर्सागढी स्वास्थ्य शाखा प्रमुख नारायण प्रसाद पौडेलका अनुसार शिविरको दोस्रो दिन मंगलबार बिहान बिरुवागुठी स्वास्थ्य चौकी र दिउँसो हरपुर स्वास्थ्य चौकीमा सेवा प्रदान गरिनेछ। यस्तै, बुधबार बिहान पचरुखी स्वास्थ्य चौकी तथा दिउँसो बागेश्वरी स्वास्थ्य केन्द्रमा शिविर सञ्चालन गरिने कार्यक्रम रहेको छ।
नगरपालिकाले सम्बन्धित क्षेत्रका नागरिकलाई शिविरमा सहभागी भई निःशुल्क स्वास्थ्य परीक्षण सेवाको लाभ लिन आग्रह गरेको छ। नगरपालिकाले यस्ता शिविरले क्षयरोग तथा पाठेघरको क्यान्सरजस्ता रोगको समयमै पहिचान र उपचारमा महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ।



COMMENTS