पोखरिया, ३१ जेठ/ गाईभैंसी लगायत पशुचौपायामा फैलिने लम्पी स्किन डिजिज (LSD) रोग नियन्त्रण तथा रोकथाम गर्ने उद्देश्यले पोखरिया नगरपालिकाका विभिन्न क्षेत्रमा निःशुल्क खोप अभियान सञ्चालन गरिएको छ।
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, वीरगञ्ज पर्साको आयोजनामा तथा पोखरिया नगरपालिका पशु सेवा शाखाको प्राविधिक संयोजकत्वमा पोखरिया नगरपालिका वडा नं. १ र २ मा लम्पी स्किन डिजिज विरुद्धको निःशुल्क खोप लगाउने कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रम अन्तर्गत गाई, भैंसी, बाच्छा, बाच्छी, पाडा तथा पाडीलाई लक्षित गरी खोप लगाइएको पशु सेवा शाखाले जनाएको छ। पछिल्लो समय पशुचौपायामा देखिने लम्पी स्किन डिजिज रोगका कारण किसानहरूले ठूलो आर्थिक क्षति व्यहोर्नुपरेको अवस्थामा रोग नियन्त्रणका लागि खोप अभियान प्रभावकारी हुने विश्वास लिइएको छ।
पशु स्वास्थ्य संरक्षण तथा पशुपालन व्यवसायलाई सुरक्षित बनाउन नियमित खोप कार्यक्रम आवश्यक रहेको भन्दै पशु चिकित्सक कौशल कुमार झा सबै पशुपालक किसानलाई आफ्ना पशुमा समयमै खोप लगाउन आग्रह गरेका छन्।
खोप अभियानबाट वडा नं. १ र २ का पशुपालक किसान प्रत्यक्ष रूपमा लाभान्वित भएका छन्। आगामी दिनमा पनि अन्य वडाहरूमा यस्ता कार्यक्रम सञ्चालन गरिने केन्द्रले जनाएको छ।


COMMENTS