वीरगञ्ज, ९ असार/ पर्साको जगरनाथपुर गाउँपालिका संघीय सरकारको कृषि, वन तथा वातावरण मन्त्रालय अन्तर्गतको रेड कार्यान्वयन केन्द्रबाट लगातार दोस्रो वर्ष नगद पुरस्कारसहित सम्मानित भएको छ।
वन तथा वातावरण संरक्षणमा उल्लेखनीय कार्य गरेको भन्दै रेड कार्यान्वयन केन्द्र, बबरमहल काठमाडौंले आर्थिक वर्ष २०८१/८२ को वार्षिक कार्यसम्पादन मूल्यांकनका आधारमा मधेश प्रदेशभरिका स्थानीय तहहरूमध्ये जगरनाथपुर गाउँपालिकालाई प्रथम घोषित गर्दै १ लाख २५ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरेको हो।
रेड कार्यान्वयन केन्द्रका प्रमुख नवराज पुडासैनीका अनुसार स्थानीय स्तरमा वन विकास, वातावरण संरक्षण तथा समुदायको आर्थिक समृद्धिमा गाउँपालिकाले पुर्याएको योगदानको मूल्यांकन गर्दै जगरनाथपुरलाई उत्कृष्ट स्थानीय तहका रूपमा छनोट गरिएको हो।
यसअघि पनि गाउँपालिकाले वन तथा वातावरण संरक्षण क्षेत्रमा गरेको कार्यको कदरस्वरूप रेड कार्यान्वयन केन्द्रबाट १ लाख २५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेको थियो। यससँगै जगरनाथपुर गाउँपालिका लगातार दोस्रो वर्ष उक्त सम्मान प्राप्त गर्न सफल भएको छ।
गाउँपालिका अध्यक्ष श्रीकान्त प्रसाद यादवको नेतृत्वमा सार्वजनिक तथा ऐलानी जग्गा अतिक्रमणमुक्त गरी ती क्षेत्रमा वृक्षारोपण गर्ने अभियान सञ्चालन गरिएको छ। सोही अभियान र वन संरक्षणमा हासिल उपलब्धिका कारण गाउँपालिकाले यो सफलता हासिल गरेको प्रमुख प्रशासकीय अधिकृत सन्देशकुमार यादवले जानकारी दिए।
गाउँपालिकाले वन संरक्षण, हरियाली प्रवर्द्धन र वातावरणीय सन्तुलन कायम गर्ने अभियानलाई आगामी दिनमा अझ प्रभावकारी रूपमा अघि बढाउने जनाएको छ

COMMENTS