बलिराम शुक्ला, १६ पर्सागढी / पर्साको बडनिहार प्रहरी चौकीको सुरक्षा घेरा तोडेर हत्कडीसहित फरार भएका काठ तस्करीका आरोपी पर्सागढी नगरपालिका–४ पशुरामपुर निवासी मेराजुल देवान (लालबाबु) फरार भएको करिब २४ घण्टापछि डिभिजन वन कार्यालय पर्सामा पुगेर आत्मसमर्पण गरेका छन्।
आइतबार साँझ प्रहरी चौकीबाट फरार भएका देवानको खोजीका लागि इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीका प्रहरी निरीक्षक समुन्नत अधिकारीको नेतृत्वमा प्रहरी टोली परिचालन गरिएको थियो। प्रहरीले उनको घर वरपर तथा सम्भावित नाकाहरूमा खोजी अभियान सञ्चालन गर्नुका साथै उनका बुवा अलिआज देवानलाई समेत नियन्त्रणमा लिएर छोरा जिम्मा लगाउन दबाब दिएको स्थानीय स्रोतले जनाएको छ।
करिब सोमबार राती करिब ८:३० बजे आत्मसमर्पण गर्न आउँदा देवानका दुवै हातमा हत्कडीको भाग रहेको र बीचको चेन काटिएको अवस्थामा रहेको बताइएको छ।
केही दिनअघि सामाजिक सञ्जालमा साइकलमार्फत काठ तस्करी गरिएको भिडियो भाइरल भएपछि वनकर्मी र प्रहरीको संयुक्त टोलीले अनुसन्धान सुरु गरेको थियो। सोही क्रममा आइतबार देवानलाई उनकै घरबाट पक्राउ गरी बडनिहार प्रहरी चौकीमा राखिएको थियो। उनलाई सब-डिभिजन वन कार्यालय सबैयामा बुझाउने तयारी भइरहेका बेला उनी प्रहरी नियन्त्रणबाट फरार भएका थिए।
घटनापछि जिल्ला प्रहरी कार्यालय पर्सा र इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीले संयुक्त रूपमा जारी गरेको प्रेस विज्ञप्तिमा पक्राउ परेका देवानलाई आवश्यक कारबाहीका लागि सब-डिभिजन वन कार्यालय सबैयामा बुझाइसकिएको उल्लेख गरिएको थियो। तर डिभिजन वन कार्यालय पर्साका प्रमुख मन्जुर अहमद र सब-डिभिजन वन कार्यालय सबैयाका रेन्जर पुपाल रोकायाले देवान आफूहरूलाई प्रहरीले नबुझाएको बताएपछि घटनाबारे विभिन्न प्रश्न उठेका छन्। घटना लाई प्रहरीले लुकाउन खोजेता पनि लुक्नु नसकेकाे बताईयको छ ।
डिभिजन वन कार्यालय पर्साका प्रमुख मन्जुर अहमदका अनुसार देवान सोमबार राति करिब ८:३० बजे कार्यालयमा स्वयं उपस्थित भई आत्मसमर्पण गरेका हुन्। हाल उनलाई थुनामा राखी थप अनुसन्धान भइरहेको र वन ऐनअन्तर्गत आवश्यक कानुनी कारबाही अघि बढाइने उनले जानकारी दिए।

COMMENTS