विरगंज,२३ जेठ/
जन्मदिनलाई सामाजिक सेवासँग जोड्दै रोनक आचार्यको ८ औं जन्मोत्सवको अवसरमा पर्सा जिल्लाको सखुवाप्रसौनी गाउँपालिका वडा नं. ३ कौवाबनस्थित मुसहर बस्तीमा रहेका ८६ जना दलित तथा सीमान्तकृत बालबालिकालाई विद्यालय झोला वितरण गरिएको छ।
हाल अमेरिका बसोबास गर्दै आएका प्रकाश आचार्य र रितु आचार्यका सुपुत्र रोनक आचार्यको जन्मदिनको अवसरमा विद्यालय झोला वितरणका लागि रु. ३७ हजार ७ सय ८० आर्थिक सहयोग प्रदान गरिएको थियो। उक्त सहयोगबाट पिसफोर दलितस फाउन्डेसन नेपालद्वारा सञ्चालन भइरहेको सामुदायिक निःशुल्क ट्युशन कक्षा तथा सिकाइ सुधार केन्द्रमा अध्ययनरत बालबालिकालाई झोला वितरण गरिएको हो।
आर्थिक रूपमा कमजोर तथा दलित समुदायका बालबालिकाको शिक्षामा पहुँच अभिवृद्धि गर्ने उद्देश्यले आयोजित कार्यक्रममा सहभागी अभिभावक तथा स्थानीयवासीले जन्मदिनलाई सामाजिक उत्तरदायित्वसँग जोडिएको उदाहरणीय कार्यको प्रशंसा गरेका थिए।
कार्यक्रममा बोल्ने वक्ताहरूले विद्यालय झोला वितरण केवल सामग्री हस्तान्तरण नभई बालबालिकाको शिक्षा, आत्मविश्वास र उज्ज्वल भविष्य निर्माणतर्फको महत्वपूर्ण लगानी भएको बताए। बालबालिकाले पनि झोला प्राप्त गरेपछि खुशी व्यक्त गर्दै यसले विद्यालय जान थप प्रेरणा मिलेको प्रतिक्रिया दिएका थिए।
रोनक आचार्यले जन्मदिनमा अनावश्यक खर्च गर्नुको सट्टा सामाजिक कार्यमा योगदान दिनु बढी अर्थपूर्ण हुने उल्लेख गर्दै आगामी दिनमा पनि शिक्षा, बालअधिकार तथा सामाजिक सेवाका क्षेत्रमा सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन्।
कार्यक्रमको सहजीकरण पिसफोर दलितस फाउन्डेसन नेपालका अध्यक्ष तथा सामाजिक अभियन्ता मनोज रामले गरेका थिए। कार्यक्रममा फाउन्डेसनका सदस्य विनोद कुमार राम, दलित अभिभावक संघकी उर्मिला देवी मुसहर, शिक्षक तारकेश्वर राम, दलित महिला समूहका प्रतिनिधि तथा स्थानीय अभिभावकहरूको उपस्थिति रहेको थियो।


COMMENTS