बलिराम शुक्ला , बिरुवा गुठी/ २९बैशाख
पर्सागढी नगरपालिका अन्तर्गत विभिन्न वन क्षेत्र तथा बस्ती खाली गराउन सब डिभिजन वन कार्यालय, सबैयाले जारी गरेको सूचनाप्रति स्थानीय बासिन्दाले गम्भीर आपत्ति जनाएका छन् । स्थानीयहरूले पर्सागढी नगरपालिका मार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबार काठमाडौंमा संयुक्त ज्ञापन पत्र पेश गर्दै वैकल्पिक व्यवस्था बिना बस्ती हटाउने निर्णय तत्काल रोक्न माग गरेका हुन् ।
ज्ञापन पत्रमा पर्सागढी नगरपालिका वडा नं. ३ र ४ अन्तर्गत पर्ने श्रीजना टोल, झाब्राहा गाउँ, सबैया गाउँको उत्तर तथा पश्चिम क्षेत्र तथा वीरगञ्ज महानगरपालिका वडा नं. ३१ र ३२ अन्तर्गत मिलनचोक लगायतका स्थानमा वर्षौंदेखि बसोबास गर्दै आएका नागरिकलाई घरटहरा हटाउन तथा बस्ती खाली गर्न सूचना जारी गरिएको उल्लेख गरिएको छ । स्थानीयले उक्त निर्णय कार्यान्वयन भए आफूहरू विस्थापित हुने मात्र नभई जीविकोपार्जनको आधारसमेत समाप्त हुने बताएका छन् ।
स्थानीयवासीले ज्ञापन पत्रमार्फत नेपालको संविधानले प्रत्याभूत गरेको सम्मानपूर्वक बाँच्न पाउने हक, आवासको अधिकार तथा मानवअधिकारको संरक्षण गर्न सरकारसँग माग गरेका छन् । वन संरक्षण तथा कानुनको सम्मान गर्दै दीर्घकालीन समाधान, व्यवस्थित बसोबास तथा वैकल्पिक व्यवस्थाको सुनिश्चितता नगरी जबरजस्ती हटाउने कार्य नगर्न उनीहरूले आग्रह गरेका छन् ।
ज्ञापन पत्र बुझ्दै पर्सागढी नगरपालिकाका नगर प्रमुख गोकर्ण पाठक ले नागरिकहरू वर्षौंदेखि बसोबास गर्दै आएको बस्तीमा वैकल्पिक व्यवस्था नगरी उठिबास गराउनु उचित नहुने बताउनुभयो । उहाँले सम्बन्धित निकायको ध्यानाकर्षण गराइ समस्या समाधानका लागि पहल गरिने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।



COMMENTS