बलिराम शुक्ला , पर्सागढि
डिभिजन वन कार्यालय, पर्सा मातहतका सबडिभिजन वन कार्यालय र विन्ध्यवासिनी कोइलाभार साझेदारी वन उपभोक्ता समितिको सक्रियतामा सखुवाप्रसौनी गाउँपालिका–१ स्थित सखुवनिया टाँडी टोलमा अतिक्रमित वन क्षेत्र खाली गराइएको छ ।
वन कार्यालयका अनुसार करीब ५० बिघा क्षेत्रफलमा फैलिएको अतिक्रमित जग्गामा शुक्रवार डोजर चलाएर खाली गरिएको हो । उक्त क्षेत्रमा स्थानीय बासिन्दाले धान, मकै तथा तरकारीखेती गर्दै आएको पाइएको थियो । राष्ट्रिय वन र नम्बरी जग्गाबीचको सिमाना प्रस्ट गर्न तथा अतिक्रमण हटाउन संयुक्तरूपमा कारबाही गरिएको जनाइएको छ ।
विन्ध्यवासिनी कोइलाभार साझेदारी वन उपभोक्ता समितिका अध्यक्ष रिजवान अन्सारीका अनुसार अतिक्रमित क्षेत्रको पहिचान गरी वन क्षेत्र र नम्बरी जग्गाको सिमाना छुट्याउने काम गरिएको हो । उनका अनुसार खाली गरिएको क्षेत्रमा ट्रेन्च (खाडल) खनेर सिमाना स्पष्ट पारिएको छ र भविष्यमा पुनः अतिक्रमण हुन नदिन आवश्यक कदम चालिनेछ । उनले साझेदारी वन क्षेत्रभित्र पर्ने अतिक्रमित जग्गा खाली गराउने अभियान निरन्तर जारी रहने बताए ।
सब डिभिजन वन कार्यालय, सखुवनियाका रेन्जर विजय यादवले दुईवटा डोजर प्रयोग गरी अतिक्रमित जग्गा खाली गरिएको जानकारी दिए । उनका अनुसार खाली गरिएको क्षेत्रमा केही दिनभित्रै तारबार लगाएर संरक्षण गरिनेछ, जसले वन क्षेत्रलाई सुरक्षित बनाउन सहयोग पुग्नेछ ।
अतिक्रमण हटाउने कार्यमा वन अधिकृत उज्ज्वल यादव, वनगस्ती टोली, साझेदारी वनका प्रतिनिधिहरू तथा इलाका प्रहरी कार्यालय, पटेर्वासुगौलीका प्रहरी निरीक्षक समुन्नत अधिकारीसहितको प्रहरी टोली खटिएको थियो । सुरक्षाकर्मीको उपस्थितिमा शान्तिपूर्णरूपमा कारबाही सम्पन्न भएको जनाइएको छ । वन कार्यालयले सार्वजनिक वन क्षेत्रको संरक्षणलाई प्राथमिकतामा राख्दै अतिक्रमण हटाउने अभियानलाई अझ सशक्त बनाइने बताएको छ ।



COMMENTS