पोखरिया, २० वैशाख । पर्साको पटेर्वा सुगौली गाउँपालिका वडा नं. १ स्थित गदियानी टोलमा गएराति करिब ११ बजे भीषण आगलागी हुँदा तीन वटा फुसका घ...
पोखरिया, २० वैशाख । पर्साको पटेर्वा सुगौली गाउँपालिका वडा नं. १ स्थित गदियानी टोलमा गएराति करिब ११ बजे भीषण आगलागी हुँदा तीन वटा फुसका घर पूर्ण रूपमा जलेर नष्ट भएका छन्। आगलागीबाट घरभित्र रहेका नगद, लत्ताकपडा, खाद्यान्न, दैनिक उपभोगका सामग्रीसहित एउटा भैँसी र एउटा मोटरसाइकलसमेत जलेर नष्ट भएको छ।
स्थानीयका अनुसार आगलागीबाट मोस्तकीम मिया, सफरोदीन अन्सारी र जैनोदिन अन्सारीको घर पूर्ण रूपमा खरानी भएको हो। अचानक सल्किएको आगो तीव्र गतिमा फैलिँदा घरभित्र रहेका अधिकांश सामान जोगाउन नसकिएको बताइएको छ।
स्थानीय अगुवा हजरत अली गद्दीका अनुसार आगलागीबाट तीनै परिवारको गरी करिब ५ लाख रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ। आगलागीपछि गाउँमा केहीबेर त्रासको अवस्था सिर्जना भएको थियो।
घटनाबारे जानकारी प्राप्त हुनासाथ सखुवा प्रसौनी गाउँपालिकाबाट वरुणयन्त्र (दमकल) घटनास्थलमा पुगेको थियो। दमकल टोली, सुरक्षाकर्मी तथा स्थानीय बासिन्दाको सक्रिय सहयोगमा आगो नियन्त्रणमा लिइएको हो। समयमै आगो नियन्त्रणमा लिन सफल भएकाले थप घरमा आगो फैलिनबाट जोगिएको स्थानीयले बताएका छन्।
आगलागीबाट घरबारविहीन बनेका पीडित परिवार अहिले खुला आकाशमुनि बस्न बाध्य भएका छन्। बसोबासको व्यवस्था, खानपान तथा अत्यावश्यक सामग्रीको अभाव झेलिरहेका उनीहरूलाई तत्काल राहत, अस्थायी आवास तथा आवश्यक सहयोग उपलब्ध गराउन स्थानीयवासीले पटेर्वा सुगौली गाउँपालिका र वडा कार्यालयसँग आग्रह गरेका छन्।
यस दुःखद घटनाले पीडित परिवारको जनजीवन संकटमा परेकाले सम्बन्धित निकायले तत्काल उद्धार, राहत तथा पुनःस्थापनाको पहल गर्नुपर्ने देखिएको छ।



COMMENTS