पोखरिया, २० वैशाख । पर्सा जिल्लामा डिभिजन वन कार्यालय र गादीमाई साझेदारी वन उपभोक्ता समूहबीच मिलेमतो गरी जंगलभित्रै अवैध रूपमा नदिजन्य पदार्थ उत्खनन भइरहेको खुलासा भएको छ। चालू आर्थिक वर्ष २०८२/८३ अन्तर्गतको विकास निर्माण योजनाको नाममा सुगीभार खोलाबाट ढुंगा, गिटी र बालुवा निकाल्ने काम भइरहेको स्रोतले जनाएको छ।
वन शक्ति माई मन्दिर क्षेत्रदेखि बसन्तपुर सब–डिभिजन वन कार्यालयसम्मको फायरलाइन मार्ग मर्मत तथा ग्रेभलका लागि करिब १० लाख रुपैयाँको योजना रहेको बताइए पनि सोही योजनाको आडमा अवैध उत्खनन भइरहेको आरोप छ। खोलामा एक्साभेटर प्रयोग गरी ट्र्याक्टरमार्फत सामग्री निकाल्ने कार्य भइरहेको बताइएको छ, जुन प्रचलित कानुनविपरीत मानिन्छ।
डिभिजनल वन अधिकृत मन्जुर अहमदले योजना सञ्चालनमा रहेको स्वीकार गर्दै वन क्षेत्रभित्रकै निर्माणका लागि स्थानीय स्रोत प्रयोग गर्न मिल्ने बताए। तर एक्साभेटर प्रयोगबारे भने उनले उपभोक्ता समूहसँग बुझ्नुपर्ने बताए।
यता, उपभोक्ता समूहका अध्यक्ष सहरुम राउत गद्दीले योजना रकम ५ लाख मात्र रहेको दाबी गर्दै कार्यान्वयनको जिम्मा वन कार्यालयले आफैं नजिकको फर्मलाई दिएको आरोप लगाए।
प्रचलित कानुनअनुसार वातावरणीय प्रभाव मूल्यांकन (EIA) वा प्रारम्भिक वातावरणीय परीक्षण (IEE) बिना खोलाबाट नदिजन्य पदार्थ उत्खनन गर्न पाइँदैन भने मेसिन प्रयोग गरी उत्खनन गर्न पूर्ण रूपमा निषेध गरिएको छ। यस घटनाले सम्बन्धित निकायको भूमिकामाथि गम्भीर प्रश्न उठाएको छ।





COMMENTS