वीरगंज, जेठ १५/
सदस्यता शुद्धीकरण तथा नयाँ सदस्यता वितरणको माग गर्दै आन्दोलनरत पत्रकार संघर्ष समितिले आज नेपाल पत्रकार महासंघ पर्साको कार्यालयमा तालाबन्दी गरेको छ।
पूर्वघोषित कार्यक्रमअनुसार संघर्ष समितिले महासंघ पर्साको मूल गेटमा तालाबन्दी गरेको हो। समितिले दुई दिनदेखि जारी धर्ना कार्यक्रमप्रति महासंघ पर्सा नेतृत्वले कुनै चासो नदेखाएको आरोप लगाउँदै आन्दोलनलाई थप सशक्त बनाइएको जनाएको छ। संघर्ष समितिका संयोजक अनुप तिवारीको नेतृत्वमा पुगेको टोलीले महासंघ कार्यालयमा तालाबन्दी गर्दै सदस्यता वितरण प्रक्रियालाई पारदर्शी, निष्पक्ष र व्यवस्थित बनाउनुपर्ने माग राखेको छ।
संयोजक तिवारीले पत्रकारहरूको हकहित संरक्षण तथा महासंघको शुद्धीकरणका लागि आन्दोलन जारी रहेको बताउँदै माग पूरा नभएसम्म संघर्ष जारी रहने चेतावनी दिनुभयो। उहाँले योग्य पत्रकारलाई सदस्यता शुद्धीकरणपछि नयाँ सदस्यता वितरण गर्न महासंघ नेतृत्वसँग पुनः आग्रह गर्नुभयो। पत्रकार संघर्ष समितिले आगामी दिनमा थप सशक्त आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने समेत जनाएको छ।


COMMENTS