बलिराम शुक्ला,१४ जेठ/
पर्साको पर्सागढि नगरपालिका लगायत ग्रामीण भेगमा चैते धान बालीमा खैरो फड्के किराको प्रकोप तीव्र रूपमा फैलिन थालेपछि किसान चिन्तित बनेका छन्। धान गजाउने र पसाउने महत्वपूर्ण समयमा किराको आक्रमण बढेपछि खेतमा धानका बोट पहेँलो र रातो देखिन थालेका छन्, जसले उत्पादनमा असर पर्ने डर किसानमा बढाएको छ।
किसानहरूका अनुसार अहिले धान बालीको वृद्धि हुने समयमा फड्के किराको प्रकोप देखिन थालेपछि बाली नै नष्ट हुने हो कि भन्ने चिन्ता बढेको छ। पर्सागढि नगरपालिका–३ का किसान कृष्णा बस्नेतले धान पसाउने बेलामा किराको प्रकोप अत्यधिक बढेको बताउँदै यसले आफूहरूलाई मानसिक तनावमा पारेको बताए। “धान बालीमा यति धेरै किरा लागेपछि बाली हुने हो कि नहुने भन्ने चिन्ताले निन्द्रा समेत हराएको छ,” उनले भने।
पर्सागढि नगरपालिकाको कृषि शाखा प्राविधिक शिवपुजन महतोले पछिल्लो समय फड्के किराको समस्या लिएर आउने किसानको संख्या बढेको छ। उनले यो किराले धानको बोटको फेदमा बसेर रस चुस्ने भएकाले बोट पहेँलो हुँदै रातो भएर सुक्न थाल्ने बताए।
उनले प्रकोप नियन्त्रणका लागि खेतमा रहेको पानी ३ देखि ५ दिनसम्म सुकाउने तथा आवश्यक परे रासायनिक विषादी प्रयोग गर्न सकिने सुझाव दिएका छन्। उनले “एसिफेट ७५% एसपी २ मिलिलिटर वा बुप्रोफेजिन २५% एससी १.५ मिलिलिटरको मात्रा प्रयोग गरी एक–एक हप्ताको अन्तरमा बोटको माथिबाट नभई फेदमा लक्षित गरेर छर्नु पर्ने बताए।
खैरो फड्के किराको प्रकोप पर्सागढि मात्र नभई सखुवाप्रसौनी, पटेर्वासुगौली, जिराभवानी र बहुदरमाई लगायतका पालिकामा पनि देखिएको किसानहरूले बताएका छन्। प्रकोप बढ्दै जाँदा समयमै नियन्त्रणका उपाय अपनाउन कृषि प्राविधिकहरूले किसानलाई आग्रह गरेका छन्।


COMMENTS