बलिराम शुक्ला बिरुवा गुठी/ ३ जेष्ठ
जिल्ला प्रहरी कार्यालय पर्साले लागू औषध सेवनकर्ता खोजी एवं सुधार महाअभियानअन्तर्गत खैरो हिरोइनसहित दुई जनालाई पक्राउ गरेको छ ।
प्रहरीका अनुसार शनिबार राति करिब ९ः४० बजे वीरगंज महानगरपालिका–३१ मिलनचौक–कटगेनवा सडकखण्डमा इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीबाट प्रहरी निरीक्षक समुन्नत अधिकारीको नेतृत्वमा खटिएको प्रहरी टोलीले ना ३९ प २५३२ नम्बरको स्प्लेण्डर मोटरसाइकललाई शंकाको आधारमा रोकी जाँच गरेको थियो ।
जाँचका क्रममा मोटरसाइकलमा सवार व्यक्तिहरूले लगाएको पाइन्टभित्र लुकाइछिपाइ राखिएको प्लाष्टिकसहित ८ ग्राम ४० मिलिग्राम खैरो हिरोइनजस्तो देखिने पदार्थ बरामद गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा वीरगंज महानगरपालिका–३२ परसवाका २० वर्षीय राहुल सिंह र बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका–७ खालका टोलका १९ वर्षीय नन्दन गुप्ता रहेका छन् ।
उनीहरूविरुद्ध लागू औषध नियन्त्रण ऐनअन्तर्गत मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक हरि बहादुर बस्नेतले जानकारी दिनुभयो ।


COMMENTS